Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

आलु महोत्सवमा पाँच करोडको आलु बिक्री

आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सवमा पाँच करोड रुपैयाँबराबरको कारोबार भएको छ ।

गत चैत २६ गतेदेखि सुरु भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा पाँच करोड रुपैयाँको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।

आइतबार सम्पन्न महोत्सव समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनीलगायत विभिन्न पुरस्कार वितरण गरिएको छ ।  पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्रसहित नगदले सम्मान गरिएको हो । 

त्यस्तै, हेमजाका किसान देवीरमण पौडेल, अमृत पौडेल, वीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शीलशोभा नेपाली र निरज तिमिल्सिना साथै शिक्षासेवीद्वय चर्तुरमान श्रेष्ठ र टासी फुनचोक पनि सम्मानित भए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताबमा नै व्यवस्था गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए । उनले एक वडा एक उत्पादन गर्ने उद्देश्यका साथ महानगर अगाडि बढिरहेको जनाउँदै कृषिलाई आयआर्जनसँग जोडे मात्रै समृद्धि हासिल हुनसक्ने पनि बताए । क्लबको बहुउद्देश्यीय भवन निर्माणमा पनि महानगर सहयोग गर्न तत्पर रहेको पनि उनले बताए ।

पोखरा–२५ हेमजाका वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले आलु महोत्सवको चर्चा देश विदेशमा हुने गरेको भन्दै योसँगै हेमजाको इज्जत बढेको बताए । प्रवक्ता तिम्सिनाले महोत्सवका महानगरको कृषि महाशाखाको भूमिका प्रशंसनीय रहेको पनि बताए ।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिकाप्रसाद उपाध्यायले हेमजामा लगाइने एमएस् ४२ जातको आलु उन्मोचनमा निर्देशनालयको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै आलु उत्पादन गर्ने क्षेत्र घट्दै जानु दुःखद् भएको औँल्याए । 

महोत्सवकै अवसरमा भएका रत्यौती गीत, झाँकी प्रदर्शनीलगायका सहभागीलाई क्लबले सम्मान गरेको छ । रासस 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com