Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

२३ वर्षपछि सडक कालोपत्रको काम सुरु

म्याग्दी– ट्रयाक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ।
भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो।

एक निर्वाचन क्षेत्र एक सडक आयोजनामा समावेश भएको यो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको बेनी–१ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए।

भकुण्डे र उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नालि निर्माण गर्न लागेको हो। विसं २०५६ मा मार्ग खोलिएको बेनी नगरपालिकाको १, २ र ३ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मतको भरमा यातायात सञ्चालन हुँदै आएको थियो।

सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक २३ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो।

तोकिएको ३० महिनाको अवधिभित्र सडक निर्माणको काम सक्ने तयारीसहित उपकरण र मजदुर परिचालन गर्ने निर्माण कम्पनीका सञ्चालक अरुण सेढाईले बताए।

सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्रे र दुई किलोमिटर आरसिसी ढलान गर्ने सम्झौता भएको छ। यसैगरी घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि गरिनेछ। हाल चारदेखि पाँच मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com