Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

‘पाँच वर्ष भयो धुलो खाएको, कति सास्ती खेप्नु’

दाङ – तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छु, उहाँले भन्नुभयो, धुलोले नानीबाबुहरूका आँखा रसाउँछनु, छाती दुख्ने समस्या हुन्छ ।

घोराही–तुलसीपुर चारलेन सडक निर्माण जारी रहँदा यस क्षेत्रमा धुलोले समस्या बनाएको छ । त्यही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ । काम गर्ने क्रममा नाक, मुखमा धुलो पस्ने, घर वरिपरि धुलैधुलो हुने, बिहान सफा गरेको छत बेलुकीमा धुलैधुलोले भरिने समस्या छ । शरीरमा धुलौधुलो, मुखमा हातले छुँदा माटो नै निस्किने, माझेर राखेको भाँडामा पनि माटैमाटो हुने गरेको उहाँको दुःखेसो छ । बिहान बढार्यो बेलुकी धुलो, मुखमा हातले छोयो माटो नै निस्किन्छु, उहाँले भन्नुभयो, पाँच वर्ष भयो, यसरी सास्ती खेप्न थालेको ।

सडकमा आवतजावत गर्दा यात्रुहरूलाई पनि त्यत्तिकै समस्या हुने गर्छ । पैदलयात्रु होस् वा गाडीमा यात्रु गर्दा पनि निकै सास्ती खेप्नुपरेको छ । धुलैधुलो हुँदा अगाडिको गाडी पनि देखिँदैन । श्वासप्रश्वासको समस्या हुन्छ, नै अगाडिको गाडी नदेखिँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छु, चालक ध्रुव रावतले भन्नुभयो, गाडी चलाउन पनि समस्या हुन्छ ।

यसरी धुलोले स्वास्थ्यमा निकै असर गर्ने चिकित्सकहरूले बताउने गर्छन् । धुलोले गर्दा घाँटी, फोक्सोमा समस्या निम्त्याउने, नियमित खोकी लाग्ने, औषधि खाँदा पनि सञ्चो नहुने अवस्था आउने डा अशोककुमार पण्डितले बताउनुभयो ।

लामो समयदेखि अलपत्र चार लेन

घोराही–तुलसीपुर चार लेनको काम २०७५ साल माघदेखि सुरु भएको हो । तीस महिनामा काम सक्ने गरी सम्झौता भयो । तर अहिलेसम्म पनि त्यो काम पूरा नहुँदा यात्रुलाई मात्रै नभइ वरपरका बासिन्दालाई पनि समस्या हुने गरेको छ । यस सडकमा अहिलेसम्म सात जना पेटी ठेकेदार फेरिएका छन् । चौथोपटक म्याद थप भइरसकेको छ ।

२०७८ साल जेठ ६ गतेभित्र काम सक्नुपर्ने भए पनि त्यसो हुन सकेन । काम सक्ने त टाढाको कुरा छ प्रतिशतभन्दा बढी प्रगति हुन सकेन । त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलोपटक, २०७८ पुस २८ गते सक्ने गरी दोस्रोपटक म्याद थप भयो । तर काम अघि बढ्न नसकेपछि तेस्रोपटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन । अहिल खरिद ऐनको १२औँ संशोधनले चौथोपटकका लागि २०८० असारसम्म स्वतः म्याद थप गरेको छ ।

सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रूपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए । उनीहरुबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजङ्ग रायमाझी आएका हुन् । पटक–पटक म्याद थप हुने तर, काम नसिकँदा नागरिक स्तरबाट पनि विरोध हुने गरेको छ । केही दिनअघि मात्रै सामाजिक अभियन्ताहरूको पहलमा चार लेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो ।

चारलेन सडक भ्याटसहित एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलर (नेपालीमा एक अर्ब २३ करोड रुपैयाँ) मा निर्माण हुन लागेको हो । भारतीय तथ्य इञ्जीनियरिङले ठेक्का लिएको हो । तर, उसले विभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अवस्था हुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ ।

पछिल्लो समय पुस १८ देखि बुटवलका सुनिलजङ्ग राइमाझीले पेटी ठेक्का पाएका छन् । तर, उनले पनि काम अगाडि बढाउन सकेका छैनन् । तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब तीन लाख २१ हजार नौ सय रुपैयाँ जरिबाना गर्ने गरेको छ । कुल रकमको १० प्रतिशतसम्म जरिबाना हुने व्यवस्थाअनुसार ठेकेदार कम्पनीलाई जरिबाना गरिएको हो । यसको मुख्य ठेकेदार भारतीय तथ्य इञ्जीनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com