Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

हिमपात नहुँदा भोकमरीको जोखिम

बझाङ– सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँदैछन्। मंसिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य संकट हुने भन्दै चिन्ता व्यक्त गर्छन्।

जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो। खेतबारी नै हरियाली हुन्थ्यो। बुढा भन्छन्, ‘यो सिजनमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो। खेत गहरा गहुँमय हुन्थे। तोरी पनि रहरलाग्दो हुन्थ्यो। अइलका वर्ष भन्या दशा लाग्या (यस वर्ष भने खराब समय भयो)।’

सुर्मामा एक पटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो। ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई बेसाहा (खाद्यान्न किन्न) गर्नुपर्दैथ्यो। यसवर्ष भने आकाश हेर्दा–हेर्दै आएको बादल पनि फाटेर जाने तर, पानी नपर्ने गरेको उनी बताउँछन्।

‘हाम्रो ठाउँ हिमाल भए पनि उब्जनीका लागि उपत्यकाभन्दा कम थिएन’, बुढा भन्छन्, ‘बर्खे बाली पनि राम्रै उत्पादन हुन्छ। हिउँदमा भने आकाशकै भर पर्नुपर्छ। मंसिरको महिनादेखि आकाश हेर्न लागेका हौं। आजको दिनसम्म न पानी, न हिउँ परेको छ।’

सदाबहार हरियाली भइरहने रूखहरू पनि पानी नपाएर मडारिन थालेको सुर्मा–४ का श्याम बोहराले बताए। ‘हिउँ पर्छ कि भनेर हामीले सुर्मादेवीलाई गुहार्‍यौं। बिहान बेलुकाको पूजामा हिउँकै वर माग्यौं। कहिलेकाँही आकाशमा बादल देखिन्छ। त्यसैमा फाटेर जान्छ’, बोहरा भन्छन्।

अहिले सुर्मामा खेतबारीदेखि होचा डाँडाकाँडा जता हेरे पनि सुकेकै देखिन्छ। ‘गत महिना हिमपात भयो। सुर्माका अग्ला डाँडाकाँडाभन्दा तल आएन। पानी पनि पर्‍यो। तर, जमिनको धुलो बसाउने गरी पनि आएन’, बोहोरा भन्छन्। पानी नआउँदा अहिले खडेरी परिरहेको उनले बताए।

अब बाली उकास्न केही गरे पनि सम्भव नहुने बोहरा बताउँछन्। ‘फागुनको दोस्रो साता भइसक्यो, हिउँ, पानी परेको छैन’, बोहराले भने, ‘अब हिमपात भए पनि बाली उठ्दैन। उम्रेको बाली सबै सुकिसक्यो, कतै जरा जोगिएको बाली मात्रै उठ्ला, नत्र सबै मरिसकेको छ।’ अबको हिमपात वनस्पतिका लागि मात्रै काम लाग्ने उनले बताए।

योजना जुध्दा बाहिरियो ज्ञान केन्द्र
दौलीचौर माविभन्दा पछाडिको जिउलोमा कृषि ज्ञान केन्द्रले कृषकलाई आलु लगाउन सुझाव दिएको थियो। ‘कृषिले हिउँदे आलु लगाउनका लागि जमिन बाँझो छोड्नु भनेको थियो’, राजेन्द्रबहादुर बुढाले भने, ‘सिँचाइसहित आलुको बीउ दिने भनेपछि जमिन बाँझो छोड्यौं। त्यसै ठाउँमा प्रदेशले पनि सिँचाइ पोखरी दिने भनेपछि ज्ञान केन्द्र पछि हट्यो। त्यसपछि मंसिरमा गहुँ छर्‍यौं। अहिले सिँचाइ नहुँदा पहेँलो खरजस्तै भएको छ।’

ज्ञान केन्द्रबाट अनुगमन गर्न गएको टोलीले सिँचाइ पोखरी दिने तयारी गरेको तर प्रदेश योजना आएपछि सानो जिउलोमा दुई योजना नदिने भन्दै ज्ञान केन्द्रले अर्को गाउँका लागि सिँचाइ पोखरी सारेको उनी बताउँछन्। ‘सुदूरपश्चिम प्रदेशले दिएको योजना दुई लाखको हो,’ बुढाले भने, ‘त्यो ट्याङ्कीबाट दुई गणा खेतलाई पनि सिँचाइ पुग्दैन। बाँकी त्यत्तिकै सुक्ने भइहाल्यो। एउटै जिउलोमा दुई योजना दिन कृषिले मानेन।’

उनका अनुसार गत वर्ष दौलीगाडले नहर बगाएपछि सिँचाइ पूरै अवरूद्ध भएको थियो। ‘अहिले दौलीगाडमा नहरको बाँध बनाउनकै लागि एक करोडभन्दा बढी रकम लाग्ने भएको छ। यहाँ सिँचाइको योजना नथपिए जिउलो बाँझै रहने अवस्था छ’, उनले भने।

४० क्विन्टल बीउ खेर
सुर्मा गाउँपालिकाले पालिकाभर उत्पादन बढाउने भन्दै यसवर्ष ४० क्विन्टल गहुँको बीउ वितरण गरेको थियो। दौलुके बारसेचार र स्वर्गद्वारी प्रजातिको गहुँको बीउ कृषकको मागअनुसार पाँचै वडाका किसानलाई वितरण गरेको पालिकाले जनाएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार हिमपात नहुँदा यसपटक सबै लगानी खेर जाने देखिएको छ।

‘सुर्मामा १० हेक्टर जमिनबाहेक सबै आकाशे पानीकै भरमा छ’, उनले भने, ‘नहर बनेका ठाउँमा पनि आकाशे पानी नआएरै सुकेको छ। नहर नलाग्ने ठाउँमा कुरै छोडौं।’ जोशीका अनुसार यसवर्ष ८० प्रतिशत बाली सुक्ने अनुमान गरिएको छ। ‘डोरीमा करिब ५० रोपनी, भुरामा १० रापनी, ४ नम्बरको माथिल्लो गाउँमा ६० रोपनी बराबरको जमिनमा लगाएको बाली ९० प्रतिशत नै सुकिसकेको छ। हिमाली जिल्लाकै हिमाली उर्बर जमिन भएको ठाउँमा हिमपात नहुँदा यसपटक निकै सास्ती खेपर्ने देखिन्छ’, उनले भने।

गतवर्ष सुर्मामा दौलुके बारसेचार जातको ५० क्विन्टल गहुँको बीउ वितरण गरिएको थियो। त्यसमा एक कठ्ठा हुने ठाउँमा तीन कठ्ठासम्म पनि उत्पादन भएको थियो। ‘गतवर्ष गहुँको एकै बालामा मुठ्ठी बराबर फलेको थियो’, उनले भने, ‘स्थानीयवासीले त्यति मिठो भएन भने तर उत्पादन भने निकै बढेको थियो।’ खासै बेसाहा ९खाद्यान्न किन्न० नपर्ने ठाउँमा यसपटक भोकमरी हुनसक्ने जोशी बताउँछन्।

जोशीका अनुसार सुर्मेलीले आयस्रोतका रूपमा जडीबुटीलाई मानेका थिए। ‘बीचमा आठरदश वर्ष त कसैले खेती नै गरेनन्। पछिल्लो केही वर्षयता मात्रै खेती गर्न सुरू गरेका थिए। उत्पादन पनि राम्रै भइरहेको थियो। यो वर्ष भने निकै सङ्कट हुने देखिन्छ’, उनले भने, ‘हिउँ नपरे हिमाल पनि रित्तै हुन्छ। जडीबुटी पाइँदैन। न खेतीपाती न जडीबुटी भएपछि स्वतः नै भोकमरी हुने भयो’, उनले भने।

जिल्लाभर ३० प्रतिशत बाली सुक्ने खतरा
यता कृषि ज्ञान केन्द्र बझाङका अनुसार उत्पादन नभएको सबै ठाउँमा खाद्य अभाव हुने गरेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, ‘तल्लो तटीय क्षेत्रबाहेकका ठाउँमा दशकयता नै उत्पादन घटिरहेको छ। एघार हजार हेक्टर गहुँ उत्पादन भइरहेकोमा यसवर्ष भने झण्डै ३० प्रतिशत उत्पादन घट्ने देखिन्छ।’

विष्टका अनुसार बझाङमा ४० प्रतिशत सिञ्चित जमिन छ भने ६० प्रतिशत असिञ्चित जमिन छ। त्यसमध्ये पनि आकाशे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ३० प्रतिशत घट्ने र तल्लो भागमा पाँचरसात प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको उनले बताए।

जिल्लाको हकमा जहिल्यै भोकमरीको अवस्था हुने गरेको उनले बताए। ‘अहिले किनेर खान सक्ने भोकमरीमा परेको भनिँदैन’, विष्टले भने, ‘विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार किनेर खान सक्ने न्यून आयस्रोत भए पनि भोकमरी नभएको मानिन्छ। केही नहुनेहरू मात्रै भोकमरीको सिकारमा परेका हुन्।’ विश्व खाद्यको मापदण्डमा भोकमरीमा परेकालाई खाद्य संस्थानले खाद्यान्न उपलब्ध गराउँदै आएको उनले बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com