Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

पोखरा महानगरले आफ्नै भवनमा डोजर चलायो

कास्की – पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलमा रहेको महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगरका मेयर धनराज आचार्य, वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीसहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो ।

महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ ।

महानगरका यी दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन् । भवनका तला–तलामा ३० वटा शटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ । भाडामा लगाइएका शटरलाई हट्न महानगरले सात दिनको दुई पटक र पुनः ३५ दिने सूचना दिएर आग्रह गरेको थियो । सूचनाको म्याद सकिएको भोलिपल्ट डोजर चलाउन सुरु गरिएको हो ।

वडाध्यक्ष मर्सानीले भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी प्रक्रिया पूरा गरेर भत्काउन सुरु गरिएको बताउनुभयो । महानगरले भवन हटाएपछि भवनले चर्चेको जमिनमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘भवन हटाएपछि यसले चर्चेको जमिनमा पोखराको सौन्दर्य वृद्धि गर्ने गरी पार्क र सार्वजनिक शौचालय निर्माण गर्नेछौँ ।’ महानगरले पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकमा रहेको साविकको ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने जनाएको छ । पृथ्वीचोकमा भवनका लागि दुई करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो भवन दुई रोपनी जमिनमा बन्नेछ ।

पोखरा महानगरपालिकाले पछिल्ला केही दिनयता सार्वजनिक जमिनमा निर्माण गरिएको संरचना हटाउन सुरु गरेको छ । वडा कार्यालयले सूचना जारी गरी आ–आफ्नो क्षेत्रभित्र सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको संरचना भत्काएका हुन् । पोखरा–२५ हेमजाले राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा सार्वजनिक जमिन अतिक्रमण गरी सडक मापदण्डभित्रका संरचना हटाउन सुरु गरेको वडाका अध्यक्ष एवम् महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com