Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

विहारमा ४१ वर्षदेखि छोरा बनेर करोडौंको जग्गा बेच्नेलाई सुनाइयो तीन वर्ष जेल

नेपालसँग सीमा जोडिएको भारतको विहारमा एउटा फिल्मी घटनाले अहिले चर्चा पाइरहेको छ।
विहारको नालन्दा जिल्लामा छोरा बनेर जमिनदार दम्पतीलाई ठगेको आरोपमा एक जनालाई जेल सजाय सुनाएको छ।

द वायरका अनुसार यो घटनाको शिलशिला सुरू हुन्छ सन् १९७७मा। त्यतिबेला मुर्गावान गाउँका जमिनदार कामेश्वर सिंहका एक्ला छोरा कन्हैया सन् १९७७ फेब्रुअरी २० का दिन १० कक्षाको परीक्षा दिन घरबाट निस्केका थिए। तर परीक्षा दिन गएका १६ वर्षीय छोरा घर फर्किएनन्। कामेश्वर र उनकी श्रीमती रामसखी देवीले स्थानीय प्रहरी चौकीमा आफ्नो छोरा बेपत्ता भएको उजुरी दिए। उनीहरूले छोरा खोजी गर्न व्यक्तिगत प्रयास पनि गरे।
छोरा हराएपछि कामेश्वरमा निकै बिरह छायो। उनलाई मानसिक समस्या पनि भयो। छोरा खोज्न अनेक उपाय लगाए तर कतै पनि भेटेनन्। गाउँमा जमिनदार भएकाले उनका छोरा हराएको खबर गाउँ(गाउँसम्म फैलिएको थियो।

चार वर्षपछि छिमेकी गाउँमा एक जना साधुको भेषमा आए। उनले गाउँलेलाई भने कामेश्वरको हराएको छोरा मै हुँ। गाउँलेहरूले उनका कुरा पत्याए। सामान्य सोधपुछ गरेपछि उनीहरूले यो खबर कामेश्वरलाई पुर्‍याए। छोरा फर्किएर आएको कुरालाई कामेश्वर निकै खुसी भए। उनकी श्रीमती रामसखी देवीले भने सुरूदेखि नै ती युवकप्रति शंका गरेकी थिइन्। आफ्ना छोराको निधारमा खत भए पनि ती साधुको निधारमा खत थिएन।

रामसखीले ती युवक आफ्नो घरमा आएको दुई महिनापछि अर्थात् सन् १९८१ नोभेम्बर २१ का दिन ती युवक विरूद्ध प्रहरीमा उजुरी दिइन्। उनले ती युवकलाई आफ्नो छोरा भनेर नपत्याउन थुप्रै आधारहरू भएको प्रहरीलाई उजुरीमार्फत् बताएकी थिइन्।

मुद्दा अदालतसम्म पुग्यो। तर त्यसमा कुनै सुनुवाइ भएन। त्यो बीचमा दयानन्द गोसाईं नाम गरेका ती युवकले विवाह गरे। सन् १९९० मा कामेश्वरको मृत्यु भयो, पाँच वर्षपछि रामसखी पनि बितिन्। त्यसपछि दयानन्दले कामेश्वरको करोडौं मूल्य पर्ने झन्डै ५० बिघा जग्गा बेचे।

केही समयअघि कामेश्वरकी छोरीले विहारको अदालतमा बन्द रहेको आफ्नी आमाको मुद्दाको सुनुवाइ हुनुपर्ने भन्दै सर्वोच्च गुहारिन्। सर्वोच्चले उक्त मुद्दाको सुनुवाइ अघि बढाउन आदेश दियो।

जिल्ला अदालतमा फेरि मुद्दाको सुनुवाइ भयो र ती युवकले कामेश्वर दम्पतीलाई नक्कली छोरा बनेर ठगेको प्रमाणित भयो। गत अप्रिल ५ मा जिल्ला अदालतले ४१ वर्षदेखि कामेश्वरको छोरा बनेर बसेका दयानन्दलाई तीन वर्ष कैद सजाय सुनायो।( एजेन्सी )

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com