Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

माओवादी कार्यकर्ताबाट कुटिएका हवल्दार भन्छन्- मलाई न्याय चाहिन्छ, जागिरको मतलब छैन

बिदामा घर जाँदै गर्दा बाटोमै नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार रामबहादुर बाँठाले राजनीतिक दबाबकै कारण जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो मुद्दा दर्ता गर्न नगरेको गुनासो पोखेका छन्।

‘यहाँ राजनीतिक हिसाबले एकदमै प्रेसर आएर हाम्रो डिएसपी सापले त जसरी पनि मिल्नुपर्छ नत्र कारबाही गर्छु भन्नुहुन्छ,’ फोनमा थापाले रूँदै भने, ‘जागिरको मलाई बरू मतलब छैन, मलाई गौंडा ढुकेर आक्रमण भएको मलाई न्याय चाहिन्छ।’

छलफलका क्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले उल्टै आफूमाथि दबाब दिएर जसरी पनि मिल्न भनिरहेको र जाहेरी लिन नमानी रहेको उनले बताए।

‘उहाँले तिमी त हाम्रो विभागको मान्छे जबर्जस्ती मिल्नुपर्छ भन्नुहुन्छ,’ उनले भने, ‘जबकि मेरो कुनै गल्ती नै छैन उल्टै मलाई नै निर्घात कुटपिट गरिएको छ भने म कसरी अन्याय सहेर मिल्नु’

पीडित प्रहरी हवल्दार बाँठाले आफूले कसैलाई केही नभनेको बरू उनीहरूले नै करिब तीन किलोमिटर अगाडि पुगेको आफूलाई अगाडिबाट तीन वटा मोटरसाइकलमा आएर बाटो छेकी अनाहकमा आक्रमण गरेको दाबी गरे।

प्युठानबाट रमाना बुझेर बुटवल जान हिँडेको हुँदा केही दिन बिदा पाउने सुविधा अनुसार घर जाँदै गर्दा पुरानो रिसिइबीका कारण गौंडा ढुकेर अनाहकमा उनीहरूले आक्रमण गरेको प्रहरी हवल्दार बाँठाले जानकारी दिए।

‘घर जाने क्रममा पानी परिरहेको थियो। मैले फूल हेलमेट र रेनकोट लगाएर यात्रा गरिरहेको थिएँ। दारबोट भन्ने ठाउँबाट उनीहरूले मलाई पिछा गर्दै आएका रहेछन्,’ उनले भने, ‘जिवाङनेर आउँदा तीन वटा मोटरसाइकलमा आएका ८/९ जनाले बाटो अगाडिबाट छेकेर एकाएक मलाई आक्रमण गरे।’

आफ्नो हेलमेट खोलेर अनुहार टाउको लगायत शरीरका विभिन्न घाउ नफुट्ने ठाउँमा निर्घात कुटेपछि आफू बेहोस भएको र झन्डै १० मिनेट पछाडि होस खुलेपछि प्रहरी चौकीमा पुगेको बाँठाले बताए।

‘खिम बाबु राजा डिसीको योजनामा मेरो ज्यान लिने उद्धेश्यले बाटो ढुकेर ममाथि आक्रमण भएको हो,’ उनले भने, ‘मलाई कुट्नुको प्रमुख कारण जग्गा र यिनीहरूकै कारण स्थानीय चुनाव मैले हारें भन्ने उहाँलाई पर्नु हो।’

डिसी त्रिवेणी गाउँपालिका वडा नं. ७ का पूर्व वडा सदस्य पनि हुन्। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा चुनाव लडे पनि पराजित भएका थिए।

डिएसपी विनोद घिमिरेले यसअघि स्थानीय माओवादी कार्यकर्ता खिमविक्रम केसीको समूहले कुटपिट गरेको जानकारी दिएका थिए।

पीडित प्रहरी हवल्दार बाँठाले झगडाको कारण जग्गा र आफूले पराजय भोग्नुको प्रतिशोध भएको दाबी गरे।
उनका अनुसार छिमेकी रणबहादुर केसीसँगै साटेको जमिन पहिलेदेखि नै विवादित थियो। त्यो विवाद अन्त्य गर्नका लागि गत वर्ष प्रहरी हवल्दार बाँठाले अमिन लगेर गए।

केसीलाई सहयोग गर्न भनेर अमिन लगे पनि त्यो जग्गा प्रहरी हवल्दार बाँठाकै नामको कित्तामा देखियो। त्यसपछि त्यो जग्गा बाँठा परिवारले भोगचलन गर्न सुरू गर्‍यो।

तर, जनप्रतिनिधिको हैसियतमा पुगेका वडा सदस्य डिसीले बाँठा घरमा नभएको समयमा गई यो जमिन २०३३ सालतिर नापेको हो र जसले भोगचलन गरे पनि हुन्छ भनेर बाँठाका परिवारले जग्गा भोगचलन गर्न नपाउने दाबी गर्न थाले। त्यही विषयमा डिसीले बाँठासँग निहुँ खोजिरहन्थे। फोनमा पनि धम्की दिइरहन्थे।

‘उहाँले म जागिरका क्रममा बाहिर रहँदा पनि फोन गरेर धम्की दिने र तैंले गाउँमा दादा गिरी देखाउने भनेर तनाव दिइरहनु हुन्थ्यो,’ बाँठाले भने, ‘वडाध्यक्षमा पराजित भएपछि उनीहरूले नै मलाई भोट दिएनन् र उनीहरूकै कारण मैले हारें भन्ने ठानेर अनाहकममा गौंडा कुरेर ममाथि आक्रमण गर्नु भयो भन्ने मलाई लाग्छ।’

डिएसपी घिमिरेले यसअघि प्रहरी हवल्दार बाँठाले मदिराले मातेका माओवादी कार्यकर्तालाई तिमी हरूवाहरू किन बाटोमा बसेका छौ भनेको हुँदा उनीमाथि आक्रमण भएको भन्ने सुन्नमा आएको बताएका थिए।

तर, प्रहरी हवल्दार बाँठाले भने पानी परिरहेको हुँदा आफूले मोटरसाइकल नरोकेको र सरासर हिँडिरहेको समयमा उनीहरू बसेको ठाउँभन्दा तीन किलोमिटर टाढा आई बाटो रोकेर सांघातिक आक्रमण भएको दाबी गरे।

त्यसक्रममा एउटा टेम्पो लिएर करिब पाँच सय मिटर टाढैबाट स्थानीय प्रहरी हवल्दारसमेतको टिमले आफ्नोबारे चियो चर्चा गर्न बसिरहेको दृष्य पनि आफूले पत्ता लगाएको प्रहरी हवल्दार बाँठाले बताए।

‘कुटपिटमा संलग्न एक व्यक्तिसँगै दारबोट प्रहरी चौकीका प्रहरी हवल्दार साइकुमार चौधरी र अर्का सहायक हवल्दार यादव पनि बसिरहेका थिए,’ बाँठाले भने, ‘पछि होस खुलेर चौकी पुग्दा उल्टै मेरो मोबाइल र बाइकको चाबी खोसेर कुटपिटमा संलग्न मान्छे यही हो भन्दै दुई घन्टा थुनेर राख्नु भयो।’

त्यसपछि आफूलाई मापसे चेकजाँच सबै गर्न लगिएको भए पनि मापसे गरेको नदेखिए पनि उल्टै आफ्नो कुरै नसुनी पीडिकहरूकै पक्षपोषणमा चौकीका पदाधिकारी उभिएको प्रहरी हवल्दार बाँठाले दाबी गरे।

‘राजनीतिक शक्ति र आडमा म सोझो व्यक्तिमाथि मिलेमतोमा अनाहकमा कुटपिट हुनुको साथै प्रहरीमा पुग्दासमेत मैले न्याय पाइरहेको छैन,’ उनले थपे, ‘आज देश र जनताको सुरक्षाको लागि भनेर मैले खाएको प्रहरीको जागिर देखेर आफैंलाई घृणा लागेर आएको छ।’

उनले राजनीति ठूलो कि इमानदारीपूर्वक सेवामा खटिने व्यक्ति ठूलो? भनेर प्रश्न समेत गरेका थिए।
अन्याय परिरहँदा राजनीतिक दबाबमा आफू जस्ता सोझा साझा व्यक्तिलाई उल्टै जबरजस्त घुँटा टेकेर मिल्नुपर्छ भन्ने आफ्नै प्रहरीका हाकिमहरूको दबाबका कारण मन कुँडिएको उनले बताए।

स्रोतका अनुसार प्रहरी हवल्दार बाँठामाथि आक्रमणको नेतृत्व गर्ने डिसी लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसी (सोमान) सँग निकट सम्बन्ध राख्ने व्यक्ति हुन्।

‘मेरो गल्ती रहेछ भने म कसुर अनुसार जस्तोसुकै सजाय भोग्न पनि तयार छु,’ उनले भने, ‘अनाहकमा म आफैंलाई गौंडा ढुकेर आक्रमण गरिएको छ उल्टै त जसरी पनि मिल्नुपर्छ नत्र कारबाही गर्छु भन्नु कहाँ सम्मको कुरा हो?’

राजनीतिक दबाबका कारण प्रहरीका अधिकारीमसेत पीडकको पक्षमा उभिनु ठूलो अन्याय भएको उनले तर्क गरे।
प्रहरी निरीक्षक प्रकाश भुसालले भने पहिला घाइते बाँठाका उपचार गर्ने र पछि छलफल गर्ने बताए। सेतो पाटीबाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com