Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कलाकारको प्रश्न : ‘बिना ढेवा के विदेश पठाइदिन्छु, हेलिकप्टरमा आउनेलाई भोट दिनुस् भन्नेलाई कारबाही हुन्छ कि हुँदैन ?’

काठमाण्डौ – कलाकारहरूले आउँदो चुनावमा शारीरिक अशक्त, वृद्धवृद्धा र स्वास्थ्य समस्या भएका व्यक्तिमैत्री निर्वाचन केन्द्र निर्माण गर्न नर्विाचन आयोगसँग आग्रह गरेका छन् ।

आज सोमवार निर्वाचन आयोगले कलाकारहरूसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा आफ्ना धारणा राख्दै कलाकारहरूले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा शारीरिक अशक्तता भएका व्यक्तिलाई ध्यानमा राखेर निर्वाचन केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनीहरूले चार किसिमका मतपत्र छापेको र त्यसमा आम नागरिक झुक्किन सक्ने सम्भावना बढी रहेकाले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा बोल्दै कलाकार मनोज गजुरेलले कलाकारहरू अभियन्ता मात्रै नभइ खबरदारीकर्ता पनि भएकाले त्यसरूपमा प्रस्तुत हुन अनुमति दिनुपर्ने माग गरे । उनले मतपत्र हेरिसकेका मानिस पनि झुक्किने भएकाले आयोगले समयमा नै मतदाता शिक्षा दिनुपर्ने बताए । उनले चुनावलाई पर्वको रूपमा मान्नुपर्ने र सकेसम्म नकारात्मक प्रचारप्रसार गर्न नहुने बताए ।

त्यस्तै अर्का वरिष्ठ कलाकार एवम् नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले चुनाव लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै अन्तरक्रियात्मक कार्यक्रम अझै बढाउन आवश्यक रहेको बताए । गएको पालिका चुनावमा अशक्त, असहाय व्यक्ति र फरक क्षमता भएका व्यक्तिलाई भोट दिन जाँदा उचित व्यवस्थापन नगरेका दृश्यहरू देखिएकोले निर्वाचन केन्द्रहरू शारीरिक अशक्ततामैत्री बनाउन उनको आग्रह छ ।

अर्का कलाकार दीपक आचार्यले विगत केही समययता ठूला दलका नेताहरूले चुनाव प्रचारप्रसार गर्ने क्रममा र भोट माग्ने क्रममा मतदातालाई प्रलोभनमा पार्ने गरेको भन्दै कारबाही हुन्छ कि हुँदैन भनेर आयोगलाई प्रश्न गरे । उनले ‘बिना ढेवा के विदेश पठाइदिन्छु’, ‘हेलिकप्टर लिएर प्रचारप्रसार गर्न आउनेहरूलाई भोट दिनुहोस्’ जस्ता अभिव्यक्ति दिने नेताप्रति आयोगको ध्यानाकर्षण भएको छ वा छैन भन्नेबारेमा पनि जिज्ञासा राखे । उनले निर्वाचन आयोगले कलाकारसँग समन्वय गरेर अघि बढे मतदाता शिक्षासहित चुनाव प्रचारप्रसारका गतिविधि नागरिकमाझ पुग्न सहज हुने विश्वास व्यक्त गरे ।

त्यस्तै कलाकार दीपाश्री निरौलाले चुनाव आइसकेकाले मोबाइलमा प्रचारप्रसारका रिङटोन राख्न सुझाव दिइन् । कलाकार प्रकाश सपुतले आम नागरिकलाई चुनावका बारेमा सिकाउने कुरामा आफूले निःशुल्क काम गर्ने उद्घोष गरे । उनले निर्वाचन सामग्री किन राम्रा बनाउन सकेका छैनौँ भन्नेबारेमा आयोगले सोच्नुपर्ने बताए ।

त्यस्तै अर्का कलाकार राजा राजेन्द्र पोखरेलले चुनाव के हो भन्ने कुरा आम नागरिकमाझ आयोगले बुझाउन नसकेको महसुस गरेको बताए । उनले भोट किनबेच हुने कुरा सामाजिक सञ्जालमा आइरहेको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण गराए । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com