Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र बन्द

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का कार्य बन्द गरेको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट एकाधबाहेक सबै पालिकाको मत परिणाम प्राप्त भइसकेकाले सो केन्द्रका कार्यहरु बन्द गरिएको हो ।

निर्वाचन आचारसंहिता तथा अन्य गतिविधि सूक्ष्मरुपले अनुगमन तथा मूल्याङ्कन गर्न आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा गठित केन्द्रमा गृह र रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व थियो । आयोगको कान्तिपथस्थित कार्यालयमा खडा गरिएको केन्द्रको सचिवालयमा आज आयोजित समीक्षा बैठकमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रमा रहेका प्रतिनिधि र कर्मचारीले महत्वपूर्ण कार्य गरेकामा प्रशंसा गरे ।

आयोगका सचिव गोकर्णमणि दुवाडीले केन्द्रले दिने प्रतिवेदन र सुझावका आधारमा आगामी निर्वाचनमा थप प्रभावकारीरुपमा काम गर्न सकिने बताए । गत वैशाख १० गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो केन्द्र शुभारम्भ गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेको समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने र निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना तथा परिघटना सङ्कलन एवं विश्लेषण, रोकथाम र समाधान गर्न उपयुक्त कदम चाल्न आयोगका साथै सम्बन्धित निकायमा सुझाव पेश गर्ने जिम्मेवारी उक्त केन्द्रले पाएको थियो ।

निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना सङ्कलन, प्रशोधन र विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्बन्धी काम केन्द्रले गरेको थियो । केन्द्रमा काजमा रहेका अधिकारी र कर्मचारीलाई यही जेठ १६ गतेदेखि लागू हुने गरी काज फिर्ता गरिएको आयोगले जनाएको छ ।

बुलेटिन बन्द

आयोगले गत वैशाख १ गतेदेखि प्रकाशन गरेको स्थानीय तह निर्वाचन ई बुलेटिनको प्रकाशन आजैदेखि बन्द गर्नाका साथै यसै सातादेखि नियमित पत्रकार भेटघाटको कार्यक्रम पनि स्थगन गरेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com