Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

बयान पछि चौधरीले भनेः मलाई लिएर केही व्यक्तिहरू राजनीतिक स्टन्ट गर्दैछन्

उद्योगपति एवं सांसद विनोद चौधरीले ममाथि राजनीतिकरण भइरहेको बताएका छन्। सरकारी वकिल कार्यालयमा बाँसबारी जग्गा प्रकरणमा बयान दिएर बाहिरिए पछि पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले लिखित रुपमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट आफूलाई बयानका लागि पत्र आएपछि जिम्मेवार नागरिकको रुपमा आफू बयान दिनका लागि आएको भन्दै अनावश्यक विषयमा आफूलाई तानेर केही व्यक्तिहरू राजनीतिक स्टन्ट गरिरहेको बताए।

उनले भने, ‘आफूमाथि राजनीतिकरण गरेर स्टन्ट गर्नेहरूलाई मेरो चरित्रको सर्टिफिकेट दिन आवश्यक छैन। ४५ वर्षे मेरो करियरमा मैले कहिल्यै पनि कुनै एक पक्षको विषयमा वकालत गरेको छैन। सँधै विकासको कुरा गर्ने र विकासको राजनीति गर्ने नै आफ्नो उदेश्यक रहेको हुँदा मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरूलाई दिनु आवश्यक छैन।’

उनले मेरो भाईमाथि अनुसन्धान सुरु हुँदा पनि आफूले सँधै न्यायको पक्षमै बोलेको र दोषी नै भए कारबाहीका लागि प्रक्रिया अघि बढाउन भनेको भन्दै आफूमाथि अनुसन्धान हुने कुरा आएपछि त्यसका लागि पनि आफू तयार भएरै यहाँ सहयोगका लागि उपस्थित भएको बताए।

‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरीका र विश्वभरीका युवाहरूले, नेपालका रोजगारदाताहरूले, करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो’ उनले भने।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को समन्वयमा सरकारी वकिल कार्यालय काठमाडौँले उद्योगपति चौधरीसँग आज बिहान बयान लिएको हो।

आज बिहान आठ बजे आफैँ सरकारी वकिल कार्यालय पुगेर चौधरीले सीआईबीलाई बयान दिएका हुन्। उनका माइला भाई वसन्त चौधरीलाई सिआइबीले बुधवार सोधपुछ गरेर छाडेपछि आज बिहान सांसद चौधरीसँग बयान लिन सरकारी वकिल कार्यालयमा बोलाइएको थियो।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको विषयमा सिआइबीले अनुसन्धान अघि बढाएको थियो। हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।

अर्बपति व्यवशायी एवं सांसद विनोद चौधरीमा कान्छा भाई अरुण चौधरीलाई १८ माघमा  पक्राउ गरेर अनुसन्धान थालेको थियो। त्यसैगरी माइला भाई वसन्त चौधरीलाई सोधपुछ गरेर छाडेपछि सिआइबीले उनलाई बोलाएर सरकारी वकिलको रोहबरमा बयान लिन थालेको हो।

उनीमाथि अनुसन्धान अघि बढाएको जानकारी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई समेत गराइएको छ। घिमिरेलाई बुधवार पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ। नागरिक दैनिक

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com