Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

पिएनजीमाथि नेपालको सानदार जित, ७.४ ओभरमै लक्ष्य पूरा गर्‍यो

facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ।

पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमै पूरा गर्‍यो।

नेपालका लागि आशिफ शेखले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ३ छक्का र ८ चौकासहित ५३ रनमा नटआउट रहे। १३ बलमा १ छक्का र १ चौकासहित १२ रनमा नटआउट रहे।

त्यसअघि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रन जोडेका थिए।

पिएनजीका चाड सुपरले १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भएको थियो। 

पिएनजीका ओपनरद्वय किप्लिन डोरिगा २ रन र हिरी हिरी १४ रनमा आउट भए। डोरिगालाई ललित राजवंशीले चौथो ओभरको चौथो बलमा बोल्ड गरेका थिए। हिरी हिरीलाई भने सोमपालले सातौ ओभरमा करण केसीबाट क्याच गराए। 

खराब सुरूआत गरेको पिएनजीले १४ ओभरमा ४९ रन जोड्दा ३ विकेट गुमाएको थियो।

त्यसपछि सेसे बाउ १८ रन, कप्तान आसाद भाला २० रन र चर्ल्स अमिनी १६ रनमा आउट भएका  थिए। तीनै जनालाई नेपालका सन्दीप लामिछानेले आउट गरे। बाउ बोल्ड हुँदा भाला र अमिनी क्याच आउट भए। 

रिली हेकुरेले ४ रन जोडे। उनलाई ललितले आउट गरे। नोर्भान भानुआ शून्यमा कुशल मल्लको बलमा दिपेन्द्रसिंह ऐरीबाट क्याच भए। यस्तै सन्दीपले हिला भारेलाई ९ रनमा बोल्ड गरे। यस्तै कुशलले काबुआ मोरियालाई पनि १ रनमा आउट गरे।

सन्दीपले अन्तिम विकेटको रुपमा सेमो कामिआलाई शून्यमा बोल्ड गरे।

बलिङमा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले १० ‌ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए। यस्तै ललित राजवंशी र कुशल मल्लले २-२ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारे।  

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज सात देशबीचको  आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो।

आइतबार युएईमाथि जित निकालेसँगै नेपालले दुई खेल खेल्न बाँकी छदै एकदिवसीय मान्यता जोगाएको थियो। 

नेपालले अब बाँकी एक खेलमा जित निकाले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ।

सिरिजमा नेपालले अन्तिम खेल चैत २ मा युएईसँग खेल्नेछ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अंक जोडेको छ। बाँकी एक खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।

पाँचौ स्थानको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ।  लिग-२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीको ३५ खेलबाट ११ अंक छ। 

लिग-२ बाट एकदिवसीय मान्यता जोगाउन असफल भएका युएई र पिएनजीका लागि विश्वकप क्वालिफायर प्लेअफबाट एकदिवसीय मान्यता जोगाउने अवसर भने हुनेछ। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com