Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

प्रधानमन्त्री प्रचण्डले आज तेस्रोपटक विश्वासको मत लिँदै

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्बाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । गएको वर्ष २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका समर्थनमा प्रधानमन्त्री भएपछि उहाँले पुस २६ गते संसदमा विश्वासको मत लिनुुभएको थियो । त्यसबेला प्रतिपक्षमा रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितका सबै दलले उहाँलाई समर्थन गरेका थिए ।

त्यसपछि राष्ट्रपति चुनावमा प्रधानमन्त्रीले कांग्रेस लगायतका दलसँग गठबन्धन गरेपछि एमाले, रास्वपा र राप्रपाले सरकार छोड्दै समर्थन फिर्ता लिएका थिए । त्यसपछि गएको वर्ष चैत ६ गते प्रचण्डले दोस्रोपटक संसद्मा विश्वासको मत लिनुभयो । अहिले फेरि कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ बनाएपछि उहाँले तेस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।

अहिले प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीको समर्थन छ । प्रतिनिधि सभामा अहिले कायम २७४ सदस्यीयमा बहुमत सिद्ध गर्न १३८ सदस्य आवश्यक पर्छ । पाँच दलीय गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् ।

एमालेका टोपबहादुर रायमाझी निलम्बनमा परेको र देवराज घिमिरेले सभाको नेतृत्वकर्ताको हिसाबले मतदानमा सहभागी हुन मिल्दैन। गठबन्धनका पाँचै दलले विश्वासको मत लिन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्ति पार्टीभित्र भने विवाद छ । संसदीय दलका नेता रञ्जिता श्रेष्ठले मंगलवार चारैजना सांसदलाई अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा उभिन ह्विप लगाउनुभएको छ । तर उहाँका पतिसमेत रहेका रेशम चौधरीले कैलालीको टीकापुरमा बहुमत केन्द्रीय सदस्य जुटाएर नयाँ बनेको केन्द्रीय गठबन्धनमा नमिसिने र सरकारमा पनि नजाने निर्णय गराउनुभएको छ । निर्वाचन आयोगले रञ्जितालाई नै नागरिक उन्मुक्तिको अध्यक्षको मान्यता दिएकाले संसदीय दलको नेताका रुपमा उहाँको ह्विप आधिकारिक हुन्छ । उहाँको ह्विपअनुसार नागरिक उन्मुक्ति पार्टीका सांसदहरू कता उभिन्छन् भन्ने प्रष्ट भएको छैन ।

लोसपाले समर्थन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गरिसकेको छैन । नेपाली कांग्रेसले विपक्षमा मत दिन सांसदलाई ह्विप लगाएको छ । राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मत नदिने सङ्केत गरेको छ । स्वतन्त्र दुईजना सांसदहरु प्रभु साह र अमरेशकुमार सिंहले निर्णय गर्न बाँकी छ । उज्यालो

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com