Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

वर्षैपिच्छे तापक्रम बढ्दै जाँदा पृथ्वी सङ्कटमा पर्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा पृथ्वीको तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ । वर्षैपिच्छे पृथ्वीको तापक्रम बढेसँगै सन् २०२३ अहिले सम्मकै तातो वर्ष रहेको पुष्टि भएको थियो । यस वर्ष अघिल्लो वर्षको रेकर्ड पनि तोडिने राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) को प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनको प्रतिक्रिया दिँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उहाँले जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याएर  द्रुत गतिमा परिवर्तन भइरहेको बताउनुभएको खबरमा उल्लेख छ । गएको वर्ष पृथ्वीको नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको थियो ।

यो एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नजिक हो । यसअघि सन् २०१५ को पेरिस जलवायु सम्मेलनमा सहभागी राष्ट्रहरू एक दशमलव पाँच डिग्री सेल्सियसको सीमाबाट बच्न प्रयास गर्न सहमत भएका थिए । २०२३ मा विशेषगरी समुद्रको तातोपन र समुद्री बरफको कमीका कारण उच्च तापक्रमको सामना गर्नु परेको थियो ।

राष्ट्रसङ्घीय मौसम विज्ञान सङ्गठनको केन्द्रीय कार्यालय रहेको स्विट्जरल्यान्डले विगत दुई वर्षमा आफ्नो अल्पाइन हिमनदीहरुको १० प्रतिशत मात्रा गुमाएको छ । अन्टार्कटिक समुद्रमा पनि बरफको मात्रा सबैभन्दा कम रेकर्ड भएको थियो ।

जलवायु परिवर्तनले विश्वभर बाढी, पहिरो, जैविक विविधतामा क्षति, खाद्य असुरक्षाजस्ता समस्या निम्तिरहेका प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सौर्य, वायु र जलविद्युतमा जस्ता नवीकरणीय ऊर्जा उत्पादनमा ५० प्रतिशतले वृद्धि हुनुलाई आशाको किरणका रूपमा प्रस्तुत गरेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com