Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कञ्चनपुरमा अझैपनि युरिया मल अभाव

धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ ।
युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता छ।
कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाउँदा एक हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए।

‘अनुदानको मल पाइएन,’ उनले भने, ‘मल राख्नुपर्ने बेला भइसकेपछि बाध्य भएर जस्तो भएपनि चर्को मूल्य तिरेर अवैधरूपले ल्याइएको मल प्रयोग गरेका छौं।’

भारतबाट तस्करी गरी बजारमा खुलेआम बिक्री भइरहेका रासायनिक मल नियमन गर्ने र गुणस्तर जाँच गर्ने निकायसमेत नहुँदा किसानले जस्तो मल पायो सोही प्रयोग गर्ने गरेका छन्। त्यस्तो मलसमेत पाउन निकै गाह्रो हुने गरेको किसानको गुनासो थियो।

अनुदानको मल सहकारी संस्थाले एक हजार प्रतिबोराका दरले उपलब्ध गराउने भए पनि भारतीय मल युरिया भने बजारमा एक हजार ६०० देखि एक हजार ८०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड महेन्द्रनगर उपशाखाले छ हजार बोरा रासायनिक मल सहकारी संस्थामार्फत किसानलाई बिक्री गरेको जनाएको छ।

चालु आवको साउन महिनाको पहिलो सातामै उपशाखाले सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल बिक्री गरेको हो।
प्रतिबोरा युरिया ८८१ रुपैयाँमा सहकारीमार्फत किसानलाई बिक्री गरेको उपशाखा प्रमुख दीपक भट्टले बताए। उनका अनुसार उपशाखामा अझै एक हजार ८८४ बोरा युरिया र दुई हजार १०० बोरा डिएपी मल मौज्दात छ।

‘पाँच दिनअघिदेखि किसानलाई युरिया मल बिक्री गरिरहेका छौँ,’ उपशाखा प्रमुख भट्टले भने, ‘युरिया मलको माग अधिक छ। थोरै मौज्दातले पुग्दैन।’

मौज्दात रहेको मल एक दुई दिनमै सहकारी संस्थालाई बिक्री गरिसक्ने उनले बताए। कर्पोरेशनमा १०२ वटा सहकारी संस्था सूचीकृत छन्।

कर्पोरेसनले ५० किलोग्रामको बोरा आठ सय ८१ रुपैयाँमा सहकारीलाई बिक्री गरेको युरिया मल किसानलाई सहकारीले एक हजार १०० रुपैयाँमा बिक्री गररिहेको छ। लोड, अनलोड, ढुवानी खर्चसमेत जोडेर कर्पोरेसनबाट खरिद गरिएको मल किसानलाई बिक्री गरिँदै आएको सहकारी सञ्चालकको भनाइ छ।

अर्को सरकारी रासायनिक मल आपूर्ति गर्ने संस्था कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखासँग भने रासायनिक मलको मौज्दात नै छैन। शाखा प्रमुख बलबहादुर शाहले रासायनिक भैरहवासम्म पनि आइनपुगेको बताए।

‘भारतको कलकता बन्दरगाहमा आइपुगेको जानकारी भएको छ,’ उनले भने, ‘भैरहवा आइपुग्न एक हप्ता बढी लाग्छ। यहाँ आइपुग्न दुई हप्ता बढी लाग्छ।’

युरिया मलको लागि आझै पनि तीन हप्ता कुर्नुपर्ने देखिएको शाखा प्रमुख शाहले बताए।
‘कैलाली र कञ्चनपुरका लागि अझै ढुवानीको टेण्डर नै भएको छैन। किसानले युरियाका लागि दुई तीन हप्ता अझै कुर्नुपर्ने देखिन्छ,’ शाखा प्रमुख शाहले भने।

कञ्चनपुरका लागि रासायनिक मलको ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले र ७० प्रतिशत रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनीले गर्दै आएको छ।

दुवै कम्पनीले आपूर्ति गर्ने मलभन्दा किसानको माग अधिक छ। यसका लागि सरकारले मागअनुसार कोटा वृद्धि गरिनुपर्ने किसानले माग गर्दै आएका छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com