Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन

गत बिहीबार भएको सवारी दुर्घटनामा घाइते भएका बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो । उपचारमा लागेको खर्च तिर्न नसकेका कारण चार दिनदेखि उनको शव वीरगन्जस्थित अस्पतालमै थियो । चन्दा संकलन गरेर स्थानीयले आज शवको पोस्टमार्टम गरी सडकमै शव राखेर प्रदर्शन गरेका छन् ।

स्थानीय र माझीका आफन्तहरूले जीतपुरसिमराको सडकमा अवरोध गर्दै प्रदर्शन गरेका हुन्। सो क्रममा उनीहरूले ठक्कर दिने सवारीसाधन प्रहरीले नखोजेको आरोप लगाएका छन् । माझीको मृत्यु सोही दिन साँझ पाँच बजेतिर न्युरो अस्पताल वीरगन्जमा भएको हो । पथलैया–निजगढ सडक खण्डमा दाउरा लिएर आउने क्रममा सेतो रंगको सवारी साधनले साइकलमा सवार माझीलाई ठक्कर दिँएको थियो । ठक्कर दिने सवारी साधनको पहिचान हुन सेको छैन ।

घाइते माझीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भए पनि रकम अभावका कारण उनको शव अस्पतालमै रहेपछि स्थानीयले चन्दा संकलन गरेर करिब एक लाख ८० हजार अस्पतालमा भुक्तानी गरेर हिजो आइतबार जिल्ला अस्पताल कलैयामा पोस्टमार्टम गरि आज शवसहित सडकमा प्रदर्शन गरेका हुन् ।

पूर्ववडा अध्यक्ष मोहित चौधरीका अनुसार मृतक माझीका चार छोरा छोरी छन् । दुर्घटना भएको चार दिनसम्म पनि प्रहरीले फरार गाडी फेला नपारेपछि बाध्य भएर शव सडकमै ल्याएर आन्दोलन गर्नु परेको उनले बताए ।

आक्रोसित भिडले सडकमा अवरोध गर्दा करिब एक हजार सवारीसाधन सडकमा अलपत्र परेका छन् । उनीहरूले नाराबाजी र प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा उत्रिएकाहरूले जितपुर चोकमा सवारीसाधन अवरुद्ध पारेका छन्। -न्युज कारखाना

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com