Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पढ्दै, पञ्चेबाजा बजाउन सिक्दै पैयुँपाटाका विद्यार्थी

बागलुङ – बागलुङ पैयुँपाटाका विद्यार्थीले पढ्दै पञ्चेबाजा बजाउन पनि सिक्न थालेका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटा त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमा पञ्चेबाज बजाउन सिक्न थालेका हुन् । 

कक्षा २ देखि १० सम्मका विद्यार्थीले पढाइका अलावा बाजा बजाउने कला पनि सिक्ने गर्छन् । यसमा छात्र तथा छात्रा दुवै संलग्न हुने गरेका छन् । विद्यालयका शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन सिकाउनुहुन्छ । गाउँ तथा सहरमासमेत पञ्चेबाजाको माग धेरै हुने तर बजाउने मान्छे नभइरहेको समयमा विद्यार्थीले पनि बाजा बजाउन सिकेपछि पञ्चेबाजा संरक्षणमा मद्दत पुग्ने विद्यालयले जनाएको छ ।

शिक्षक परियारले विद्यार्थीलाई बाजा बजाउन सिक्नका लागि प्रेरित गरिराख्नुभएको छ भने बिदाको समयमा समेत सिकाउने गर्दै आउनुभएको छ । 

कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का विहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याप्पो बजाउनुहुन्छ । कक्षा १० मा पढ्ने रेश्नुका परियार झ्याली बजाउनुहुन्छ भने कक्षा ४ मा अध्ययन रतदिप्सन परियार र कक्षा ६ मा पढ्ने सक्षम परियारले कर्नाल बजाउने गर्नुभएको छ । कक्षा ३ मा अध्ययनरत आयन परियार र कक्षा ४ मा अध्ययनरत विहान परियार(ख)ले दमाहा बजाउने गर्नुभएको छ । उहाँहरू सबैले घरमा राखेको बेलामा बजाउँदा सिकेको शिक्षक थमबहादुर  जानकारी दिनुभयो । पछिल्लो सयम गाउँमा बाजा बजाउनेको सङ्ख्या नपुग्ने भन्दै साना विद्यार्थीले बजाउन थालेपछि पञ्चेबाजा संरक्षण हुने आशा जागेको उहाँको भनाइ छ । दश जनाको टोली बनाएर विद्यालयले पञ्चेबाजा बजाउन सिकाउँदै आएको छ ।

विद्यालयमा बाजा बजाउने धेरैजसो छ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी छन् । प्रधानाध्यापक तिलक आचार्यले विद्यार्थीलाई बाजा बजाउन प्रेरित गर्नका लागि पञ्चेबाजा सङ्कलन अभियान शुरु गरेको जानकारी दिनुभयो । अहिले विद्यालयमा एउटा पनि बाजा नहुँदा सिकाउन नसकेको उहाँको भनाइ छ । विद्यार्थीलाई किताबी ज्ञानसँगै अन्य क्षमतालाई प्रस्फुटन गर्ने वातावरण तयार गरेको जनाउँदै उनीहरूलाई सक्षम बनाउनतर्फ लागेको प्रधानाध्यापक आचार्यले बताउनुभयो । 

अहिले बाजाको माग निकै बढिरहे पनि बजाउने मान्छेको अभाव खट्किँदै गएको छ । बागलुङ पञ्चेबाजाका लागि प्रख्यात मानिन्छन्, तर पछिल्लो समय बाजा बजाउने दक्ष युवाशक्तिले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । मेला, महोत्सव, विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अचेल कमै मात्रामा बज्ने गर्छन् । बाजाका सट्टा ठूला–ठूला साउण्ड सिस्टममा ‘रेकर्डेड’ गीत बजाइने गरिएको छ । कहीँ बाजा बजाउने जनशक्ति छैनन्, कहीँ भएर पनि बजाउन चासो दिँदैनन् । यसकारण मौलिक पञ्चेबाजा संरक्षणमा चुनौती बढेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com