Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कञ्चनपुरमा अवैध फार्मेसी बन्द गर्न नगरपालिकाको अल्टिमेटम

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले अवैधरूपमा सञ्चालन भएका फार्मेसीलाई बन्द गर्न एक साताको अल्टिमेटम दिएको छ।
नगरपालिकाले बजार अनुगमन गर्ने क्रममा अधिकांश फार्मेसी दर्ताबिनै सञ्चालनमा रहेको भेट्टाएपछि एक साताको समय दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले जानकारी दिए।

‘हामीले एक साताभित्र नगरपालिकामा आएर दर्ता गर्न भनेका छौं,’ उनले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा अनधिकृत रूपमा औषधि बेचेको पाइयो।’

नगर प्रमुख किशोरकुमार लिम्बुसहित नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले अनुगमन गर्दा बजारमा शैक्षिक योग्यताको प्रमाणपत्र र दर्ताबिनै फार्मेसीले अनधिकृत रूपमा औषधि बिक्री गरिरहेको भेटिएको हो।

दोधारा चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले नगरभित्र भारतीय नागरिकले अवैध रूपमा फार्मेसी सञ्चालन गरेको पाइएको बताए।

‘नेपाल सरकारले बन्देज गरेका औषधि समेत बिक्री गरेको भेटियो,’ उनले भने, ‘ती अवैध फार्मेसी सबै भारतीय नागरिकका हुन्। एक साताभित्र प्रक्रिया पूरा गरेर दर्ता गर्न नभए बन्द गर्न भनेका छौं।’

उनले एक साताभित्र दर्ता प्रक्रियामा नआए बन्द गरिने बताए।

‘न दर्ता प्रमाणपत्र छ न शैक्षिक प्रमाणपत्र छ,’ उनले भने, ‘आवश्यकताभन्दा बढी डोज र सरकारले बन्देज गरेका औषधि समेत बिक्री गरेको पाइयो।’

उनले नगरपालिकाले एक सातापछि अनुगमन गरेर कारबाही प्रक्रियामा जाने बताए। यस्तै नगरपालिकामा २१ वटा फार्मेसी अवैध भेटिएको बताए।

ती फार्मेसीले बिरामीलाई औषधि दिने, सुई लगाउने, अवैध रूपमा गर्भपतनसम्म गराउने गरेको पाइएको छ। अनुगमनका क्रममा म्याद नाघेका औषधिसमेत भेटिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

दोधारा चाँदनी नगरपालिका भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँग खुला सीमा भएका कारण यहाँ भारतीय नागरिकको बढी आवतजावत हुने गरेको छ। नगर प्रमुख लिम्बूले फार्मेसीले अवैध रूपमा लागुऔषध बिक्री गर्न थालेपछि यहाँका युवापुस्ता बिग्रिन थालेको बताए। उनले कानुन र सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन नगरे पसल बन्द गराउने समेत बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com