Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गीताञ्जली श्री बनिन् इन्टरनेसनल बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका

भारतीय लेखिका गीताञ्जली श्रीले इन्टरनेसनल बुकर पुरस्कार जितेकी छिन् । उनी यो प्रतिष्ठित साहित्य पुरस्कार हासिल गर्ने पहिलो भारतीय अझ दक्षिण एसियाली लेखिका बनेकी छन् । श्रीले हिन्दीमा ‘रेत समाधी’ शीर्षकमा लेखेको उपन्यासलाई डेजी रकवेलले ‘टुम अफ स्यान्ड’ नाममा अङ्ग्रेजीमा अनुवाद गरेकी थिइन् ।

उपन्यासले एकजना ८० वर्षीया महिलाको कथा भन्छ जसको जीवनमा पतिको मृत्युपछि जीवनमा नयाँ पाटाहरु खुल्न थाल्छन् । सन् १९४७ को समयको भारतको विभाजनको पृष्ठभूमिमा भनिएको कथाले लेखिकाले आघात, मातृत्व र नारीवादजस्ता विषय छोएकी छन् ।

इन्टरनेसनल बुकर पुरस्कार अङ्ग्रेजीमा अनुवाद भएका अख्यानलाई दिइने पुरस्कार हो । यसका लागि पुस्तक संयुक्त अधिराज्य वा आयरल्याण्डमा प्रकाशित हुनुपर्ने सर्त पनि रहेको छ । अन्तर्राष्ट्रिय बुकर पुरस्कार र बुकर पुरस्कारबाट एउटै संस्थाले वितरण गर्ने भए पनि अलग अलग हुन् । बुकर पुरस्कार मुल रुपमा अङ्ग्रेजीमा लेखिएका उपन्यासलाई दिइन्छ ।

सन् १९९७ मा भारतीय लेखिका अरुन्धती रोय उनको उपन्यास ‘गड अफ स्मल थिङ’का लागि बुकर पुरस्कार जित्ने पहिलो भारतीय बनेकी थिइन् । अब लेखिका श्री र अमेरिकी अनुवादक रकवेलले ५०,००० पाउण्ड पुरस्कार बराबरी बाँडेर पाउनेछन् ।

पुरस्कार जितेपछि विहीबार लन्डनमा मन्तव्य दिने क्रममा श्रीले आफूले इन्टरनेसनल बुकर पाउने कुरा सपनामा पनि कल्पना नगरेको बताउँदै जितले आफू चकित र सम्मानित महसुस गरिरहेको बताइन् । पुरस्कार छनौट समितिका प्रमुख फ्रान्क विनले पुस्तकमा ‘उत्साह र जीवन, शक्ति र जोशले भरिएको’ बताए ।

अनुवादक रकवेलले ‘गीताञ्जलीको लेखनको प्रयोगात्मक शैली’ र ‘भाषाको विशिष्ट प्रयोग’ ले गर्दा यो कृति उनले अनुवाद गरेकोमध्ये ‘सबैभन्दा कठिन’ कृतिमध्ये एक भएको बताइन् । उनको जितले ‘हिन्दी साहित्यको बृहत्तर संसारलाई ठूलो दायरामा ल्याउँछ’ उनले बताइन् ।

‘लामो इतिहास भएको साहित्यको एक विशाल संसारमाथि अझै प्रकाश परेको छैन भन्ने कुरामाथि पनि यसले जोड दिन्छ,’ श्रीले बुकर पुरस्कार वेबसाइटलाई दिएको एक अन्तर्वार्तामा भनेकी छन् । –सीएनएनबाट एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com