Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

वैज्ञानिक अनुसन्धानमा युवालाई प्राेत्साहित गर्छाैँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताउनुभएको छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१ औँ वार्षिकोत्सवका अवसरमा आज बुधवार ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा उहाँले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

‘विज्ञान तथा प्रविधि विकासका लागि सरकारले १ अर्ब रुपैयाँको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ’, नास्टका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘केही प्रक्रियागत व्यवस्थापन भएपछि त्यो कोषबाट प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने छ ।’ विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकहरूले दिएको योगदानका बारेमा आफूले नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै उहाँले देशमा यस क्षेत्रको क्षमता विकासमा तीव्रता आएको बताउनुभयो । 

‘सरकारले तपाईँहरूले अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैन । सरकारका पनि विभिन्न बाध्यता हुँदा रहेछन्’, प्रधानमन्त्रीले भन्नुभयो, ‘म आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसक्नुका कारण तत्त्वबारे जानकार छु ।’ उहाँले आउँदो १६ औँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिका क्षेत्रको विकासका लागि अख्तियार गर्नुपर्ने रणनीतिका बारेमा गहन छलफल गरेर रणनीतिक योजनाको खाका तयार गर्न आग्रह गर्नुभयो । 

‘१६ औँ योजनामा के कस्ता कार्यक्रम समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाको खाका तयार गर्न अनुरोध गर्दछु ।’

त्यस अवसरमा प्रधानमन्त्रीले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नास्टका वैज्ञानिक तथा प्राविधिकलाई पुरस्कृत गरिएको थियो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com