Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

चितवन घटना : गाडी तोडफोड अघि रविका कार्यकर्ताले गठबन्धनका नेतालाई जिस्क्याएको आरोप

चितवन–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेको प्रचारमा प्रयोग गरिएको गाडी आइतबार तोडफोड भयो । इच्छाकामना गाउँपालिका–४ लेवाटारस्थित मुग्लिङ सडक खण्डमा सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ र रास्वपाका अध्यक्ष रवि लामिछाने आमने–सामने भएर हात हल्लाउँदै विदा भए ।

तर, लामिछानेको समूहमा पछाडि रहेको गाडीबाट कार्यकर्ताले गठबन्धनका उम्मेदवार र कार्यकर्तालाई लोप्पा खुवाएर जिस्काएपछि दुई पक्षबीच तनाव भएको गठबन्धनका नेताहरूले दाबी गरेका छन् ।

नेपाली कांग्रेस चितवनका युवा नेता जितनारायण श्रेष्ठले लामिछानेको प्रचारमा हिँडेको पछिल्लो गाडीका साथीहरूले ‘दुर्व्यवहार’ गरेको र धकेल्ने प्रयास गरेको बताए । उनले भने– ‘गठबन्धनको विरुद्ध हुलहुज्जत गरेका छन्, मादक पदार्थ सेवन गरेका रविका कार्यकर्ताले हाम्रा उम्मेदवारलाई लोप्पा खुवाए ।’

लेवाटारमा दुई समूहको बीचमा विवाद हुँदै गर्दा गठबन्धनका एकजना कार्यकर्ता गाडीमा चढेर अगाडीको सिसा फुटाएको भिडियो फुटेज सार्वजनिक भएको छ । बा.१४च ७६८४ नम्बरको गाडी तोडफोडमा संलग्न लाई प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेको छ ।

गाडी तोडफोडमा संलग्नलाई पक्राउ गर्न प्रहरी लागिपरेको चितवनका एसपी नवराज अधिकारीले बताए । उनले भने–‘हामी लागिरहेका छौं ।’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार पुरानो चिनजानका गठबन्धनका कार्यकर्ता र लामिछानेका कार्यकर्ताको बीचमा ‘घोचपेच’ भएपछि झडपको अवस्था आएको थियो । त्यसपछि दुवै समूह रोकिएर धकेलाधकेल गरेका हुन् ।

‘किन जिस्काएको ? भन्ने विषयमा विवाद हुँदा घटना भएको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिए । नेकपा माओवादी केन्द्रका स्थानीय नेता प्रताप गुरुङले घटना ‘नियोजित’ नभएको र संयोग मात्र भएको बताएका छन् । चितवनको एक स्थानीय सञ्चारमाध्यमसँग भिडियो कुराकानीमा उनले भनेका छन्– ‘उहाँहरूले घण्टी बजाएर हाम्रा साथीहरूलाई उत्तेजित बनाउनुभयो, त्यसपछि स्थिति मुठभेडमा गएको हो ।’
घटनाबारे लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com