Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

उग्र बन्दै इरान प्रदर्शन: दर्जनौंको मृत्यु, सयौं आन्दोलनकारी पक्राउ

इरानमा सन् २००९ पछिकै सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ।
प्रहरी हिरासतमा रहेकी २२ वर्षीया युवती महसा अमिनीको मृत्यु भएपछि चर्किएको राष्ट्रव्यापी विद्रोहले इरानमा उग्र रूप लिएको हो।
अमिनीलाई हिजाबको आदेश उल्लङ्घन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

दमनकारी सरकारी नियम र खराब अर्थतन्त्रबाट दिक्क भएका इरानीहरूले इस्लामिक गणतन्त्रको शासन अन्त्यको माग गर्दै आन्दोलन चर्काएका छन्।

विरोध प्रदर्शनमा ठूलो संख्यामा महिला सामेल छन्। उनीहरू महिलाहरूका लागि सार्वजनिक स्थानमा टाउको ढाक्नुपर्ने र खुकुलो कपडा लगाउनुपर्ने नियमको विरोध गरिरहेका छन्। प्रदर्शन देशको कमजोर अर्थतन्त्र र भ्रष्टाचारतिर लक्षित हुन थालेको छ। लामो समयसम्म अमेरिकी प्रतिबन्धका कारण इरानी अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ र यसले आम जीवनको दैनिकीमै असर गरेको छ।

यो विरोध प्रदर्शन सन् २००९ मा भएको प्रदर्शनपछि ठूलो मानिएको छ। अधिकारीहरू त्यस समयजस्तै अहिले पनि दमनमा उत्रिएका छन्। धेरै स्थानमा सुरक्षाकर्मीले प्रदर्शनकारीहरूमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको देखिएको छ। सहरी क्षेत्रमा प्रदर्शनकारीलाई लाठीले पिटेको देखिएको थियो  पछिल्लो समय सरकारले मोबाइल तथा इन्टरनेट सेवा नै अवरुद्ध गर्ने कदम चालेको छ बिबीसीले जनाएको छ।

८० भन्दा बढी सहरमा फैलिएको प्रदर्शनका कम्तिमा ५० जनाले ज्यान गुमाइसकेका छन्। पत्रकारसहित सयौं पक्राउ परेका छन्।
अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोस्थित मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ।

इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा एउटा प्रान्तबाट ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिसकेको तस्निम समाचार एजेन्सीले जनाएको छ। गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मलेकीले ६० महिलासहित ७३९ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको बताएका छन् ।

हिरासतमा परेका व्यक्तिमाथि प्रहरीले निर्मम कुटपिट गरेको छ। पक्राउ परेकालाई खाना र पानी समेत नदिएको साथै शौचालयको प्रयोग गर्न नदिएको बीबीसी जनाएको छ।

यसैबीच इरानका राष्ट्रपति इब्राहिम राइसीले झण्डै एक सातादेखि प्रदर्शनमा उत्रिएका जनतालाई कडा कारबाही गर्न आदेश दिएका छन्।
राष्ट्रपति राइसीले विरोध प्रदर्शन गर्नेलाई कडा कारबाहीको सामना गर्न चेतावनीसमेत दिएका हुन्।

महसा अमिनी हिजाबको नियम तोडेको आरोपमा पक्राउ परेकी थिइन्। प्रहरी अधिकारीहरूले उनीमाथि कुटपिट गर्नुका साथै निर्मम तरिकाले हत्या गरेको आन्दोलनकारीले आरोप लगाएका छन्।

टाउको छोपेको स्कार्फमुनि केही कपाल देखिएको आरोपमा सेप्टेम्बर १३ मा अमिनीलाई आचार तथा व्यवहार निगरानी गर्ने प्रहरीले तेहरानमा गिरफ्तार गरेको थियो।

हिरासत कक्षमै अचेत भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यसको तीन दिनपछि अस्पतालमा उनको मृत्यु भयो।
उनको टाउकोमा लट्ठी प्रहार गरिएको र प्रहरीको गाडीमा ठोक्काइएको विवरण सार्वजनिक भएको छ। यद्यपि अधिकारीहरूले उक्त त्यसको खण्डन गरेका छन्।

प्रहरीले भने अमिनीमाथि कुनै दुर्व्यवहार नभएको जिकिर गर्दै उनको अचानक हृदयघात भएर मृत्यु भएको बताएको छ।
राष्ट्रपति राईसीले अमिनीको मृत्युको छानबिन गरिने बताएका छन्। यसैबीच, इरानका गृहमन्त्री अहमद वाहेदीले अमिनीमाथि हिरासतमा आक्रमण नगरिएको दाबी गरेका छन्।

‘निगरानी निकायबाट प्रतिवेदन प्राप्त भएको छ, प्रत्यक्षदर्शीबाट प्रमाण संकलन गरिएको छ, भिडिओ पनि फेला परेको छ, फरेन्सिक दृश्य पनि लिइएको छ र यी सबैबाट अमिनीमाथि कुटपिट नभएको प्रष्ट हुन्छ,’ गृहमन्त्री वाहेदीले भने।

शरियामा आधारित इरानी कानुनअनुसार महिलाहरू हिजाबले आफ्नो कपाल छोप्न र शरीर ढाक्न लामो तथा खुकुलो किसिमको लुगा लगाउन बाध्य छन्।

हिजाब कानुन इरानमा इस्लामिक क्रान्ति सम्पन्न भएको दुई वर्षपछि सन् १९८१ मा लागू भएको थियो। यो कानुनप्रति इरानमा पहिलेदेखि नै असन्तुष्टि थियो । त्यहाँका महिलाले लामो समयदेखि यस कानुनको विरोध गर्दै आएका छन्।

यसैबीच, इस्लामिक इरान पिपुल्स पार्टीको सुधारवादी समूह युनियनले आवश्यक ड्रेस कोड हटाउन र शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न इरान सरकारसमक्ष आग्रह गरेको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com