Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पक्राउ पुर्जी जारी भएपछि विप्लवको जवाफ- हातमा दही जमाएर बस्दैनौं

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना महासचिवसहित नेताहरूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि हातमा दही जमाएर नबस्ने बताएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले तत्कालीन केपी शर्मा ओली सरकारसँग आफूहरूले गरेको तीन बुँदे सहमतिको सरकारका तर्फबाट पालना नभएको आरोप लगाइएको छ।

विभिन्न मुद्दामा जेल परेका आफ्ना पार्टीका नेता-कार्यकर्तालाई रिहा गर्ने सहमतिको बुँदाविपरीत अदालतले नेताहरूविरूद्ध पक्राउ पुर्जी जारी गर्नु उनले षड्यन्त्र भनेका छन्।

‘देश र जनताका विद्यमान यावत समस्याका विरूद्ध संघर्ष गरिरहेको हाम्रो पार्टी र नेतृत्वका विरूद्ध गरिएको आजको षड्यन्त्रले अन्तत्वगत्वा अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाण्डले उक्त कदमको प्रतिवाद र जनप्रतिरोध गर्न पनि अपिल गरेका छन्।
जारी भएको पक्राउ पुर्जी रोकिएन र तीन बुँदे सहमति तदारूकताका साथ पालना गरिएन भने आफूहरू पनि हात दही जमाएर नबस्ने चेतावनी विज्ञप्तिमा दिइएको छ।

‘यसबाट निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।
यसअघि ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरूद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको थियो।

उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत् भनिएको छ।
अदालतले मुद्दा हात हतियार तथा खरखजाना मुद्दामा विप्लवसहित मोहनबहादुर कार्की, भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई छन्।

यस्तै विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरूद्धको अपराधसमेतको मुद्दामा विप्लव र प्रकाण्डलाई पत्र काटेको छ।
यस्तै मुद्दा हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुर र अपराधिक लाभ र संगठित अपराधको मुद्दामा विभिन्न व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरेको छ। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com