Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

यशोदा न्यौपानको प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्मको राजनीतिक यात्रा

माघ ६ काठमाडौ । किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन। तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले।

विसं २०४० असोज ३ गते आमा धनरुपा र बुवा धनन्जय न्यौपानेका तीन दाजुभाइका माझ एक छोरीका रूपमा तातोपानी गाउँपलालिका–४ जुम्ला (साविकको हाँकु गाविसमा ) मा उनी जन्मेकी हुन्।

गरिबी, अभाव, रोग, अशिक्षा र उत्पीडन झेलिरहेको समाजमा जन्मेकी यशोदालाई त्यही समाजको विद्यमान अवस्थाले २०५५–५६ देखि राजनीतिप्रतिको चासो बढ्दै गयो।

तत्कालीन समयमा नेकपा माओवादीले सशस्त्र विद्रोह थाल्यो। यशोदा २०५७ सालमा माओवादीको पूर्णकालीन सदस्य भइन्। पार्टीमा जोडिँदै गर्दा कलाकार हुँदै उनी अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनको एरिया उपाध्यक्ष र पछि महिलाको एरिया अध्यक्ष बनिन्। त्यसको एक वर्षपछि २०५८ मा एरिया सेक्रेटरी, त्यसको अन्त्यतिर पार्टीको जिल्ला कमिटी सदस्य, महिला सङ्गठनको जिल्ला कमिटी सचिव हुँदै अखिल नेपाल किसान सङ्गठन (क्रान्तिकारी) क्षेत्रीय ब्यूरो सदस्य बनिन्।

वि.सं २०५९ मा माओवादीद्वारा गठित जनमुक्ति सेनाको प्लाटुन कमाण्डर बनिन्।

पार्टीको क्षेत्रीय ब्युरो सदस्य हुँदै यशोदा २०७८ मा पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा हाल कालीकोटको सहइन्चार्जका रूपमा काम गर्दै आएकी छन्।

नेकपा माओवादीको पूर्णकालीन सदस्य भएयता यशोदा पटक पटक युद्ध मोर्चामा सहभागी भएकी छन्।

अछामको मङ्गलसेन आक्रमणपछि जुम्ला घर फर्कंदै गर्दा कालीकोटको सेराबाडामा उनी सेनाको घेरामा परिन्। कालीकोटकै मुग्राहमा भएको भिडन्तमा पनि उनी बाँच्न सफल भइन्।

विसं २०५७ मा यशोदाले कालिकोटको खाडाचक्र नगरपालिका–८ का लक्ष्मीप्रसाद चौलागाईंसँग विवाह गरिन्। उनको एक छोरी छिन्।

हाल कक्षा १२ को अध्ययनलाई निरन्तरता दिइरहेकी यशोदा माओवादीभित्र जुझारू, इमान्दार, कर्मशील र व्यवस्थापकीय क्षमता भएकी महिलाका रूपमा चिनिन्छिन्।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा यशोदा नेकपा ९माओवादी केन्द्र० बाट कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्।

यही माघ ४ गते बुधबार कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौं बैठकबाट प्रदेश सभामा कायम रहेको ४० सदस्य सङ्ख्यामा ३८ उपस्थित हुँदा २४ मत ल्याएर बहुमतले उनी उपसभामुखमा निर्वाचित भएकी छन्।

माघ १ गते सभामुखको निर्वाचन सम्पन्न गरेको प्रदेशसभा बैठकले माघ ४ गते उपसभामुख चयन गरेको हो।

सभामुखमा एमालेकी नन्दा गुरूङ निर्वाचित भएकी छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com