Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

काठमाण्डौबाट नौबिसे पुग्नै ६ घण्टा, ट्राफिक प्रहरी भन्छ– साँघुरो र खराब सडक मुख्य कारण

काठमाण्डौ – काठमाण्डौबाट बाहिरिने गाडीको सङ्ख्या धेरै हुँदा कलङ्कीबाट धादिङको नौबिसेसम्म नै गाडीको जाम रहेको छ । कलङ्कीबाट नौबिसेसम्मको झन्डै ३० किलोमिटर सडक पार गर्न ६ घण्टासम्म लागेको यात्रुले गुनासो गरेका छन् ।

आज आइतवारको निकै ठूलो जाम भोगेका यात्रु बोमलाल गिरीले कलङ्कीबाट नागढुङ्गा पुग्न तीन घण्टा र नागढुङ्गाबाट नौबिसे पुग्न तीन घण्टा लागेको बताउनुभयो । अहिले पनि कलङ्की, थानकोट, नागढुङ्गा हुँदै नौबिसेसम्म नै गाडी रोकिँदै चल्दै गरेको ट्राफिक प्रहरी नागढुङ्गाका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) टपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । जाम हुनुको खास कारण नभएको भन्दै उहाँले बाटो साँघुरो र खराब रहेको, त्यसैमाथि हजारौँ गाडी एकै पटक बाहिरिँदा जाम बढेको बताउनुभयो । ट्राफिक प्रहरी रात–दिन नभनि सडकमा खटिँदासमेत सजिलै गाडी पार गराउन नसकेको उहाँले बताउनुभयो ।

भोलि सोमवारसम्म नै कलङ्कीदेखि नौबिसेसम्मको सडकमा गाडीको निकै चाप हुने ट्राफिक प्रहरीले जनाएको छ । दशैँका लागि गाउँघर जानेको चाप बढेसँगै केही दिनयता यो सडक खण्डमा दिनहुँ लामो जाम हुने गरेको छ । सडकको अवस्था, गाडीको चाप र गाडी बिग्रने समस्यासँगै मोटरसाइकल, स्कुटर जस्ता साना गाडीले जथाभाबी ओभरटेक गर्दासमेत जाम बढ्ने गरेको इन्स्पेक्टर खत्रीले बताउनुभयो । गाडीको चाप भएका बेला जथाभाबी ओभरटेक नगर्न पनि उहाँको आग्रह छ ।

यस्तै कतिपय अवस्थामा तेल सकिएर पनि गाडी रोकिँदा जाम हुने गरेकाले यात्रामा निस्कनुअघि गाडीमा पर्याप्त मात्रामा तेल हाल्न पनि प्रहरीको अनुरोध छ । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com