Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

इराकले ल्यायो इजरायलसँग सम्बन्ध राख्नेलाई मृत्युदण्ड दिने कानुन

इराकको संसदले इजरायलसँग सम्बन्ध सुधार गर्ने कार्यलाई गम्भीर अपराध करार गर्ने विधेयक पास गरेको छ । विधेयकअनुसार अब इजरायलसँग सम्बन्ध विकास गर्ने वा सुधार गर्ने जो कसैलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनेछ ।

‘जियोनिष्ट निकायसँग सम्बन्ध विकास अथवा सामान्यीकरणको अपराधीकरण’ शीर्षकको विधेयक मंगलबार पारित भयो । ३२९ सदस्यीय इराकको संसदका २७५ विधायकले विधेयकको पक्षमा मतदान गरेका थिए ।
इराकले हालसम्म इजरायललाई राष्ट्रको मान्यता दिएको छैन र इराकी नागरिक तथा उद्योगलाई इजरायल प्रवेशमा बन्देज छ ।

नयाँ कानुन सम्पूर्ण इराकी नागरिक, सरकारी तथा नीति संस्थान लगायत इराकमा काम गरिरहेका विदेशीहरुमाथि पनि लागू हुनेछ । यो विधेयक इराकका प्रभावशाली शिया धर्मगुरु मुक्तदा अल–सद्रले प्रस्ताव गरेका थिए । गत अक्टोबरमा सम्पन्न निर्वाचनमा इराकी संसदमा सद्रको पार्टीले सबैभन्दा धेरै सिट जितेको छ ।
मुक्तदा अल–सद्रको पार्टीले इजरायलसँग मात्र होइन अमेरिकासँगको सम्बन्धको पनि विरोध गर्ने गर्छ । पछिल्लो समय संयुक्त अरब एमिरेट्स तथा बहराइन लगायतका खाडी मुलुकहरुले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरिरहेका छन् ।

इरानबाट उत्पन्न साझा चुनौती सामना गर्न इजरायलसँग नजिकिनु परेको ती मुलुकले तर्क दिने गरेका छन् । इजरायल र अरबी मुलुक बीचको बढ्दो नजदिकीमा अमेरिकाले मध्यस्थता गरेको थियो । अमेरिकाको अर्को घनिष्ट साझेदार साउदी अरबले भने सम्बन्ध सुधारको लागि सन् १९६७ को युद्धपछि इजरायलले कब्जामा लिएको प्यालेस्टाइनी भूमि फिर्ता गर्नुपर्ने सर्त राख्दै आएको छ ।
इराकी संसदले इजरायल विरोधी कानुन पास गर्नेबाहेक हालसम्म अरु कुनै काम अघि बढाउन सकेको छैन ।

गत अक्टोबरको चुनावपछि बनेको वर्तमान संसदले न त राष्ट्रपति चुन्न सकेको छ न सरकार नै । यसले गर्दा देशको राजनीतिक गतिरोध लम्बिरहेको छ । –अलजजिराबाट एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com