Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पाकिस्तानमा भएको चुनावमा कुनै पनि दलको बहुमत आएन

काठमाण्डौ – पाकिस्तानमा आमचुनावको नतिजा सार्वजनिक भएको छ । तर पछिल्लो नतिजासँगै कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था रहेन । २ सय ६६ सिटमध्ये दुई सय ५३ सिटको नतिजा सार्वजनिक हुँदा कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन नसक्दा अब गठबन्धन सरकारको सम्भावना बढेको छ । त्यहाँ गएको बिहीवार चुनाव भएको थियो ।

पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरिक–ए इस्लाम (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवार सबैभन्दा धेरै एक सय सिटमा विजयी भएका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) दोस्रो र पूर्व विदेशमन्त्री विलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) तेस्रो भएका छन् । पीएमएल–एनले ७१ र पीपीपीले ५४ सिट जितेको छ । अन्य दल २८ सिटमा विजयी भए ।

चुनावको औपचारिक नतिजा घोषणा हुन बाँकी नै छ । पाकिस्तानमा ३ सय ३६ सदस्यीय संसद् छ । तीमध्ये २ सय ६६ सिटमा प्रत्यक्ष चुनाव हुन्छ । जसअनुसार सरकार गठनका लागि कम्तीमा एक सय ३४ सांसदको समर्थन आवश्यक छ । समानुपातिक प्रणालीबाट चुनिने ७० सिटमध्ये भने ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि छुट्याइएको छ ।

पूर्वप्रधानमन्त्री खानले चुनावी नतिजा आफ्नो पक्षमा आएको दाबी गर्नुभएको छ । तर उहाँ अहिले जेलमा हुनुहुन्छ । निर्वाचन आयोगले चुनावअघि नै खानको दललाई प्रतिबन्ध लगाएको थियो । त्यसैले पीटीआईका नेताहरू स्वतन्त्र हैसियतमा चुनावमा भाग लिएका हुन् ।

पूर्वप्रधानमन्त्री सरिफले पनि चुनावमा आफ्नो दल विजयी भएको दाबीसहित सरकार गठनका लागि अन्य दललाई गठबन्धनमा सहभागी हुन आग्रह गर्नुभएको छ । शरीफका भाइ शहबाज शरीफले कुनै पनि दलले स्पष्ट बहुमत नपाएको अवस्थामा गठबन्धन सरकार बनाउन पीपीपीका बिलावल भुट्टो जर्दारीसँग हात मिलाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चुनावी नतिजापछि पाकिस्तानी सेना प्रमुख जर्नेल असिम मुनिरले देशलाई ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गर्नुभएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । लोकतन्त्र र देशको हितका लागि एउटा स्थिर नेतृत्व आवश्यक रहेको उहाँको भनाइ छ ।

केही विश्लेषकले पछिल्लो चुनाव विश्वसनीय हुन नसकेको टिप्पणी गरेका बीबीसीले जनाएको छ । यस्तै बेलायत र अमेरिकाले पनि हस्तक्षेप वा धाँधलीको दाबीमा अनुसन्धान हुनुपर्ने बताएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com