Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

कैलालीकाे भजनी र टीकापुर बर्सेनि डुबानमा, दीर्घकालीन समाधानको उपाय खाेज्न आग्रह

कैलाली – कैलालीमा बर्सेनि बाढी र डुबानका कारण अत्यधिक क्षति हुने गरेको छ । विशेषत भजनी र टीकापुर नगरपालिकाका विभिन्न ठाउँ डुबानबाट बढी प्रभावित हुने गरेकाे छ । हरेक वर्ष बर्खाकाे समयमा यहाँका नागरिकले निक्कै सास्ती पाउने गरेका छन् । 

भजनीका स्थानीय शुरेन्द्र चाैधरी भन्नुहुन्छ ‘ बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई/तीन महिना सडकमै बास हुन्छ ।  बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन जस्तो हुन्छ ।’ सान्त्वना दिनुभन्दा पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उहाँको भनाइ छ ।

भजनीकै रामकृष्ण चौधरी पनि समस्याका बेलामात्रै दिइने सान्त्वनाले  समस्या समाधान नहुने बताउनुहुन्छ । बाढी र डुबानको मुख्य समस्या  पहिचान गरी काम थाल्नुपर्ने उहाँको भनाइ छ । ‘ बाढीका कारण खेत बाँझो राख्नुपरेको छ । लगाएको खेती भित्र्याउन पाइन्नँ । कुन बेला के हुन्छ भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपर्छ’, चौधरीले भन्नुभयो । बाढी र डुबानको दीर्घकालीन समाधान आवश्यक भएको उहाँको भनाइ छ । 

बर्सेनि बाढी र डुबानका कारण करोडौँको क्षति हुने गरेको छ । विशेषगरी नदीका कारण भजनीका प्रायजसाे क्षेत्र डुबानमा पर्छन् । ‘बाढी बस्तीमा पसेपछि समस्या बढी हुन्छ । पानीको निकास नहुँदा डुबानको जोखिम महिनौँसम्म रहन्छ’, स्थानीय रीता बोहरा भन्नुहुन्छ ।

भजनी नगरपालिकाका मेयर केवल चौधरी भजनी डुबानमा पर्नुका विविध कारण रहेको बताउनुहुन्छ । भजनीलाई चारैतिरबाट नदीले घेरेको छ । बाढीबाट जोगाउन उचित काम हुन नसक्दा भजनी डुबानमा पर्ने गरेको छ । ‘ भारतको कैलाश बाँधले पनि बढी समस्या भएको छ । भारतले कैलाश बाँध बन्द गरेपछि त्यसको असर भजनीमा बढी पर्ने गरेको छ’, चौधरीले भन्नुभयो ।

कैलाली क्षेत्र नं ३ की सांसद गङ्गा चौधरी हुलाकी राजमार्गले पनि डुबानको समस्या निम्त्याएको बताउनुभयो । पानीको निकास नहुँदा तथा  जमिनभन्दा राजमार्गको उचाइ १०–१२ फिट बढी भएर समस्या भएको उहाँको भनाइ छ । उहाँले हुलाकी राजमार्गको पूर्वी क्षेत्र जलमग्न हुँदा पश्चिम क्षेत्रमा पानी नहुनु भनेको पानीको निकास नै नभएर डुबान गरेको भन्दै त्यसको विकल्प खोज्न आवश्यक रहेको सांसद चौधरीले बताउनुभयो । 

 राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पथरैया नदीमा गरेको तटबन्धको काम अधुरै हुँदा पनि भजनी डुबानमा पर्ने गरेको छ । आयोजनाले केही भागमा तटबन्ध गरेर केही भाग छोड्दा तटबन्ध नभएको ठाउँबाट पथरैया नदी बस्तीमा पसेको हो । आयोजनाका प्रमुख केदार श्रेष्ठले बजेट अभावका कारण सबै ठाउँमा तटबन्धको काम गर्न नसकिएको बताउनुभयो । यसपटकको बाढीका कारण भजनी नगरपालिकामा मात्रै एक हजार आठ सय २२ घरपरिवार विस्थापित भएका छन् । दुई घर बाढीले बगाएको तथ्याङ्क छ ।

एक दशकपछि अत्यधिक वर्षा 

कैलालीको कर्णाली चिसापानी क्षेत्रमा २०७१ यताकै बढी  वर्षा भएको छ । वर्षा मापन केन्द्र कर्णाली चिसापानीका अनुसार यही साउन २३ गते बिहान चार सय २४ दशमलव दुई मिलीमिटर वर्षा मापन गरिएको छ । यसैगरी चिसापानी माथिल्लो क्षेत्रमा वर्षा भए ठूलो खतरा हुने जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र चिसापानीकी कर्मचारी पार्वती गुरुङले बताउनुभयो । 

‘माथिल्लो क्षेत्रमा पनि यस्तै वर्षा भएको भए नदीमा पानीको बहाव अत्यधिक बढ्ने थियो’, उहाँले भन्नुभयो । जल तथा मौसम विज्ञान विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका अनुसार यही साउन २४ गते एक सय ४३ दशमलव नौ मिलीमिटर वर्षा मापन भएको छ । चुरे क्षेत्रमा वर्षा भएकाले त्यहाँ पहिरोसमेत गएको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले बताउनुभयो ।

अहिले पनि मनसुन सक्रिय भएकाले देशका प्रायजसाे भू–भागमा वर्षा भइरहेको छ । आउँदाे तीन दिनसम्म पनि देशका केही ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।शनिवार भाेलिदेखि फेरि मनसुन सक्रिय हुने देखिएको र त्यो समयमा अझै बढी वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेको अवस्था हेर्दा शनिवारदेखि देशका धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना रहेकाले नागरिकलाई सचेत रहन मौसमविद् सजिना शाक्यको सुझाव छ । दुई दिन परेको वर्षाका कारण बाढी आउँदा कैलालीका तटीय क्षेत्रमा डुबान भएको छ । डुबान हुँदा हजारौँ नागरिक  प्रभावित भएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै पनि भारी वर्षा हुने सम्भावना देखिएकाले तटीय तथा जोखिम क्षेत्रका नागरिकले सतर्क भएर बस्न स्थानीय पालिकाले आग्रह गरेका छन् । कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकाले नागरिकलाई सुरक्षित रहन सूचना गरेका छन् । बाढीबाट टिकापुर र भजनीका सयौँ परिवार विस्थापित भएका छन् ।

कैलालीमा बर्सेनि कर्णाली, मोहना, पथरैया, कन्द्रा, खुटियालगायत नदीले दुःख दिने गरेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com