Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

मदन भण्डारी राजमार्ग सिन्धुली खण्ड अवरुद्ध

सिन्धुली– मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बिहानदेखि अवरुद्ध भएको छ। कमलामाई नगरपालिका–१३ रानीबासमा स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन्।

आज बिहान जङ्गली हात्तीको आक्रमणबाट घरमै सुतिरहेका ४० वर्षीय दण्डपाणि पौडेलको मृत्युको विषयलाई लिएर पीडित पक्ष र स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन्। राजमार्ग अवरुद्धका कारण सवारी आवागमन बन्द भएको छ। गन्तव्यतर्फ गुडेका सवारी साधनहरू रानीबासमा दुईतर्फ रोकिएका छन्।

स्थानीयवासीले विभिन्न मागसहित राजमार्गमा बसेर सवारी आवागमन अवरुद्ध पारेको स्थानीय वृहस्पति पौडेलले जानकारी दिए। बिहान ९ बजेदेखि राजमार्ग बन्द गरिएको र जायज माग पूरा नहुन्जेलसम्म राजमार्ग अवरुद्ध रहने उनको भनाइ छ।

स्थानीय बासिन्दाका मागलाई स्थानीय प्रशासनले लामो समयदेखि उचित सम्बोधन नगरेका कारण हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएपछि सथानीय आक्रोशित भएका छन्। मानिसको अकालमै मृत्यु भएपछि स्थानीयवासीले आफ्नो सुरक्षाको माग गर्दै आन्दोलन गर्न बाध्य भएको उनको भनाइ रहेको छ।

उनले भने, ‘जङ्गली हात्ती आतङ्कबाट मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति, मृतकले संरक्षण गरेको संरक्षित परिवारलाई राज्यले संरक्षण गर्नुपर्ने, जङ्गली हात्तीका कारण सम्पत्ति क्षति भएका परिवारलाई क्षतिपूर्ति र जङ्गली हात्तीको व्यवस्थापन गर्नुपर्ने हाम्रा माग रहेका छन्।’

अवरुद्ध राजमार्ग सञ्चालन गर्ने सवालमा छलफलको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए। स्थानीयवासीको मागका सवालमा छलफल गरी अवरुद्ध राजमार्ग पुनः सञ्चालन गरी अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पुर्‍याउने सवालमा पहल भइरहेको उनले जानकारी दिए। हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारले मृतकको शव बुझेका छैनन्। मृतकको सिन्धुली अस्पतालमा शवपरीक्षण गरिएको छ।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com