Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बाँके : हिन्दु र मुस्लिम समुदायले मनाउने हजरत बाबा कम्मर शाह मेला शुरु

बाँके – डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दु र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला शुरु भएको छ । हिन्दु र मुस्लिम समुदायले मिलेर मनाउने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन् ।

कम्मर शाह बाबा मेलामा सबै धर्ममा आस्था राख्नेहरुले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्त्व रहेको डुडुवा गाउँपालिका–५का वडाध्यक्ष झङ्कबहादुर थापाले बताउनु भयाे । उहाँका अनुसार चार दिनसम्म सञ्चालन हुने मेलामा हिन्दु, मुस्लिमलगायत सबै धर्ममा आस्था राख्नेले बाबाको मजारमा पुगेर आफ्नो मनोकाङ्क्षा राख्ने गरेका छन् । यहाँ राखेको मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

मेलामा बाँके र बर्दियाका नागरिकसँगै सीमावर्ती भारतकाे बाबागञ्ज, नानपारा, श्रावस्तीबाटसमेत भारतीय नागरिक मेला भर्न आउने गरेको स्थानीय अगुवा राजेन्द्र विश्वकर्माले बताउनुभयो । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि हजरत बाबा कम्मर शाह मेला महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा पर्ने हजरत कम्मर शाह बाबा मजार हिन्दु र मुस्लिम समुदायको आस्था र सद्भावको धरोहरको रुपमा छ ।

डुडुवा गाउँपालिका–५ मा हिन्दु र मुस्लिम धर्मावलम्बीको बसोबास छ । कम्मर शाह बाबाले सयौँ वर्ष पहिले यस ठाउँमा कुटी बनाएर बसेको र कम्दीलगायतका गाउँबाट गाईभैँसी चराउन आउने यादव समुदायका मानिससँग घुलमिल हुँदै गएको स्थानीय अगुवा शकील अहमद खाँले बताउनुभयो । 

कम्मर शाह बाबाको मजारमा पनि मुस्लिम, यादवलगायत विभिन्न समुदायका मानिसले प्रत्येक वर्ष च्यादर ओढाउने, भाकल गर्ने लगायत गर्दै आएका खाँको भनाइ छ ।

मेलाको उद्घाटनमा पूर्वमन्त्री मोहम्मद इस्तेयाक राई, लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल यादवलगायतले हजरत बाबा कम्मर शाह मेलाको महत्त्वबारे चर्चा गर्नुभएको थियो । मेलामा यो वर्ष सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको मेला समिति अध्यक्ष सगीर खानले जानकारी दिनुभयो । उहाँका अनुसारनवदुर्गा युवा क्लबले मेलामा आजदेखि डुडुवा गाउँपालिकास्तरीय नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिता गर्न लागेको हो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com