Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

‘मेरी श्रीमती उभिएर हिँडेका दिन मलाई अरू केही चाहिन्न’

तुलसीपुरको बसपार्कभित्र छ, सुन्दर टोल। नाम सुन्दर भए पनि यो टोलको बाटो निकै साँघुरो छ। मुस्किलले मानिस छिर्न मिल्ने सानो गल्लीमा २२ वर्षीय राजेश पुन बाटो देखाउन मेरो अगाडि लागे। एउटा घरमा पुगेपछि उनी माथिल्लो तला उक्लिए। जस्ता पाताको ढोका खोले।

भित्र १७ वर्षीया सुनिता बोहोरा एकहोरो ढोकातर्फ हेरेर चुपचाप पल्टिरहेकी थिइन्।
सुनिता अरूको सहयोगबिना यताउति फर्किन पनि सक्दिँनन्। अरूले जता पल्टाइदियो, त्यतै पल्टिरहन्छिन्। दिसा-पिसाब ओछ्यानमै हुन्छ। त्यही भएर उनको शरीरमा घाउ आउन थालेका छन्। शरीर पाक्न थालेको छ।

अर्धचेत अवस्थाकी सुनितालाई राजेशले बाँकेको नेपालगञ्जस्थित न्युरो स्पेसियालिटी ट्रमा सेन्टरबाट माघ २७ गते बेलुका तुलसीपुर ल्याएका हुन्।

‘उपचार गर्ने रकम अभाव भएपछि के गर्नु,’ राजेशले भने, ‘त्यसैले अर्धचेत अवस्थाकी श्रीमतीलाई अस्पतालबाट निकाल्न बाध्य भएँ।’

सल्यानको कुमाख गाउँपालिका-७ जिमालीका राजेश र सुनिताको जिन्दगी पाँच महिनाअघिसम्म पनि हराभरा थियो। प्रेमविवाह गरेका उनीहरूको जिन्दगीमा भर्खरै जन्मिएकी छोरीले नयाँ खुसी थपेकी थिइन्। कलिलैमा विवाह गरेका राजेश र सुनिता आफूसँगै सानी छोरीबारे पनि सपना देख्न थालेका थिए।

गत असोज १५ गते राजेश तुलसीपुरको एउटा पसलमा छोरीलाई न्याना लुगा, सुनितालाई कुर्ता सुरवाल र भाइलाई दसैंमा लगाउने नयाँ लुगा किन्दै थिए। गुल्मीमा सगुन कन्ट्रक्सनको स्काभेटर चलाउने राजेश दसैं मनाउन घर जाँदै थिए।

पसलमा लुगा छानिरहेका बेला उनको मोबाइल बज्यो। घरबाट दाइले फोन गरेका रहेछन्स् बा र घरका अरू मान्छे चढेको गाडी दुर्घटना पर्‍यो, काइँला त कहाँ छस् छिटो आइज।

दाइको फोनले राजेशको होसहवास उड्यो। दुर्घटनामा श्रीमती सुनिता, छोरी रिया, भाउजु र भतिजा पनि परेको सुनेर उनका हातगोडा फतक्क गले। छानेका सामान नै नकिनी उनी बस चढे। बाटोभरि उनलाई गाडी निकै सुस्त हिँडिरहेको जस्तो लाग्यो।

जिल्ला अस्पताल खलंगा पुगे। श्रीमती र ३ महिनाकी छोरीलाई मात्रै त्यहाँ भेटे। अरू घाइतेको छुट्टै ठाउँमा उपचार भइरहेको रहेछ। सुनिता लम्पसार र अचेत थिइन्। छोरी छुट्टै कोठामा रोइरहेकी थिइन्।
डाक्टरले राजेशलाई टाढैबाट नियाल्न दिए। सुनिताको अवस्था गम्भीर थियो। डाक्टरहरूले सल्यानमा उपचार सम्भव नहुने बताए।

केहीबेरमा उद्धारका लागि हेलिकोप्टर आयो। श्रीमती र छोरीलाई लगेर राजेश नेपालगञ्ज पुगे। त्यहाँ पनि उपचार सम्भव नहुने भनियो।
राजेशले बैंकमा राखेको सबै पैसा निकाले। श्रीमती र छोरीलाई लिएर लखनऊ गए।

तीन महिना लखनऊ बस्दा आफूसँग भएको पैसा सकिएपछि उनले आफन्त र छिमेक गुहारे, साहुसँग ऋण मागे। १९ लाख रुपैयाँ खर्च भएपछि उनले थप पैसा जुटाउन सकेनन्। अर्धचेत अवस्थाकी सुनितालाई उनले सल्यान ल्याए।

एक महिना घर राख्दा सुनिताको समस्या बल्झिन थाल्यो। फेरि ऋण सापट गरी उनी गत पुस अन्तिमतिर नेपालगञ्जस्थित न्युरो स्पेसियालिटी ट्रमा सन्टेरमा पुगे। एक महिना उपचार गर्दा साहुबाट ऋण मागेर ल्याएको दुई लाख रुपैयाँ सकियो।
चौबीसै घन्टा अस्पतालको रेखदेखमा राख्नुपर्ने बिरामी श्रीमतीलाई फेरि त्यहाँबाट निकाल्न उनी बाध्य भए।

अहिले उनी आफैं रातदिन सुनिताको रेखदेख र स्याहार-सुसारमा खटिन्छन्। उपचारपछि सुनिता बिस्तारै बोल्न सक्ने भएकी छन्। उनको स्मरण शक्ति बिस्तारै फर्किन लागेको छ। तर, उनी एउटा केही कुरा पाए त्यसको रट लगाइरहिन्छन। कहिले दिनभर र कहिले रातभर कराइरहन्छिन।

‘कहिले घर जाम भनेझैं गर्छिन् र कहिले छोरी-छोरी भनिरहन्छिन्,’ राजेशले भने, ‘बिस्तारै तंग्रिँदै गएजस्तो छ।’
श्रीमतीको दिसा-पिसाब, र्‍याल, सिंगान स्याहार्नेदेखि शरीरका घाउ खटिरा सफाइ गर्ने, हातगोडा मालिस गर्ने, समय समयमा आफूसँगै काखमा राखेर बसाउने, यताउता फर्काउने काम राजेश एक्लैले गर्दै आएका छन्।

‘सुनिताको हेरचाह अहिलेसम्म मैले एक्लै गर्दै आएको छु,’ उनले भने, ‘आफन्त तथा घरका कोही हेरचाह गर्न आउँदैनन्।’
यो बीचमा आफन्तको व्यवहार नजिकबाट चिन्न पाएको उनले बताए।

‘कतिले काइँला अब श्रीमतीको माया मार् भन्छन्। कतिले फोनमा टिठाएझैं गर्छन्, सहानुभूति दिएझैं गर्छन,’ उनले भने, ‘यस्तो बेला दुनियाँ ताग्न सकुँला तर मेरी सुनितालाई एक पल छोड्न सक्दिनँ भनिदिन्छु। उहाँहरूको सहानुभूति होइन, मलाई सहयोगको खाँचो छ भन्ने उहाँहरूले किन बुझ्नुहुन्न।’

कुनै बेला एक्साभेटर चलाएर महिनामा लाख रुपैयाँसम्म कमाउने राजेश अहिले श्रीमतीको उपचारका लागि याचना गरिरहेका छन्। जीप मालिक र यातायात प्रालिले आफ्नो दायित्व पूरा गरिदिएको भए पनि उनलाई अलिकति राहत हुने थियो।

असोज १५ गते बिहान सुनिता परिवार र छिमेकीले रिजर्भ गरेको रा १ ज ७९८ नम्बरको जीप चढेर खैरावाङ मन्दिर जान लागेकी थिइन्। जीपमा खैरावाङ मन्दिरमा चढाउन भाकल गरेको बोको पनि थियो।

पहाडको कच्ची बाटो, त्यतिबेला पानी परिरहेकाले बाटो चिप्लो थियो। त्यसमाथि ओभर लोड। मन्दिर पुग्नुभन्दा पहिले बिहान ७ बजेतिर उनीहरू सवार जीप दुर्घटनामा पर्‍यो। जीप एक सय मिटर तल भीरबाट खस्यो। दुर्घटनामा राजेशका काका नाता पर्ने मानबहादुर पुन मगर र भतिजी नाता पर्ने एलिना पुन मगरको मृत्यु भयो।

दुर्घटनामा ३ महिनाकी छोरी रिया, ६० वर्षीय बुवा जंगबहादुर, ३१ वर्षीया भाउजु सुशीला उनका २ वर्षीय छोरा सन्देश, १६ वर्षीय भरत पुन मगर गरी ६ जना घाइते भए।

जीपका मालिक उनको गाउँकै मान्छे हुन्।

सुनिता बाहेक अन्य घाइते उपचार बाँकेमा भएको थियो। उनीहरूको उपचारमा लागेको अधिकांश खर्च नमस्ते सल्यान यातायात प्रालिले व्यहोरेको थियो।

सुनिताको उपचार खर्च कसले व्यहोर्ने भन्नेबारे प्रालिका पदाधिकारी मौन छन्।
‘साहु फरार छन् र प्रालिसँग पैसा नै छैन कसरी उपचार गर्नु,’ एक जना प्रालिका कर्मचारीले भने, ‘एउटै व्यक्तिको उपचारमा त्यति ठूलो रकम कसरी व्यहोर्न सकिन्छ?’

प्रालिका अध्यक्ष डम्मर तिवारीलाई सम्पर्क गर्दा खोज्दा सम्पर्क हुन सकेन। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले गाडी धनीलाई क्षतिपूर्ति मुद्दा चलाइएको र क्षतिपूर्ति तिर्न नसकेर फरार भएको बताए। इलाका प्रहरी कार्यालय थारमारेले मुद्दा चलाएपछि गाडी धनी फरार रहेको प्रहरी निरीक्षक खनालले जानकारी दिए।

प्रहरी प्रशासन र प्रालिका पदाधिकारीको कमजोरीका कारण दुर्घटनाका घाइते तथा उनको परिवारले निकै कष्टकर जीवन भोग्नु परेको राजेशले बताए।

हरेक यात्रुको तीन लाख यात्रु बिमा हुने गर्छ। त्यो बाहेक घाइतेको उपचारमा लाग्ने खर्च प्रालिले व्यहोर्नु पर्छ। त्यसमा गाडी धनी जिम्मेवार नहुने राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको केन्द्रीय कार्यालय दाङ तुलसीपुरका प्रशासनिक सचिव प्रकाश भट्टले बताए।

आफ्नो प्रालिले यो बीचमा एक जना घाइतेको उपचारका लागि एक करोड ९ लाख रुपैयाँ खर्च गरेको भन्दै उनले होडबाजीमा च्याउ उम्रेसरी खुलेका प्रालिका कारण दुर्घटना पछि घाइतेले उपचार खर्च नपाउने अवस्था देखिएको बताए।

‘प्रालिका कर्मचारी दलाल प्रवृत्तिका भए यात्रुको हितमा काम गर्ने संस्था हुनु पर्‍यो,’ उनले थपे, ‘यात्रु तानातान गर्ने र दुर्घटनापछि उपचार नगरी भाग्नेहरूलाई उन्मुक्ति दिनुहुन्न।’

कसैको जीवनसँग खेलबाड गर्ने अधिकार कसैलाई नभएको उनले बताए।
‘हाम्रो प्रालिले घाइतेको उपचारका लागि कुनै मापदण्ड राखेको छैन, असीमित खर्च व्यहोर्छौं,’ उनले भने, ‘रातरात उम्रिएका र देखासिकीमा खोलिएका संस्थाको कमाउ धन्दाभन्दा अरू छँदै छैन।’

यातायात भित्रको सिन्डिकेट अन्त्य गर्नु ठिक भए पनि दुई वटा बस भए पनि प्रालिको मान्यता दिँदा आज घाइतेको बिचल्ली भएको उनले स्वीकारे।

‘नमस्ते यातायात प्रालि बलियो संस्था भइदिएको भए आज सुनिताको किन यस्तो बिजोग हुन्थ्यो ररु,’ उनले भने, ‘घाइतेको उपचारको लागि असीमित खर्च गर्न सक्ने हैसियतका प्रालि हुनु पर्छ। घाइतेले नारकीय जीवन भाग्नु नपरोस् भन्ने सोचले काम गर्नुपर्छ।’

दुर्घटनाम परेको जीपका धनी सम्पर्कविहीन छन्। उनी भागेर भारत गएको राजेशले सूचना पाएका छन्। जीप आवद्ध संस्था नमस्ते यातायात प्रालि सल्यानबाट उनले एक रुपैंया पनि पाएका छैनन्।

प्रालिका जिम्मेवार व्यक्तिले पहिला आफैं उपचार गर्नुस् र बिल दिनुहोला भुक्तानी दिन्छौं भनेका थिए। आज उनीहरू फोन नै उठाउँदैनन्। श्रीमतीको उपचारमा खर्च भएको साहुको ऋण प्रालिले पैसा दिएपछि तिरौंला भन्ने राजेशको मनमा थियो। आज कसैले उनको कुरा सुन्दैनन्। के गर्ने कसो गर्नेरु भन्ने चिन्तामा राजेश छन्।

स्थानीय सरकार प्रमुख र प्रहरी प्रमुखलगायतलाई प्रालिबाट उपचार खर्च दिलाउनका लागि पहल गरिदिन हारगुहार गर्दै आएका छन्।सबैबाट आश्वासन मात्रै पाउँछन्, काम भएको छैन।

दुर्घटना परी खुट्टामा चोट लागेकी छोरी रिया अहिले बस्न सक्ने भएकी छन्।
‘छोरीलाई मुख नजिक लगिदिँदा सुनिताले म्वाइ खाउँलाजस्तो गर्छ,’ राजेशले भने ‘ तर,छोरीले आमा बिर्से जस्तो छ र सुनिता बर्बराउँदा डराएजस्तो गर्छे।’

दुर्घटनामा परी मेरूदण्ड फ्याक्चर भएका ६० वर्षीय बुवा जंगबहादुर लठ्ठीको सहायताले बिस्तारै हिँड्न सक्ने भएका छन्। ३१ वर्षीया भाउजु सुशीला, उनका २ वर्षीय छोरा सन्देश, भाइ १६ वर्षीय भरत पनि हिँड्डुल गर्न सक्ने भइसकेका छन्।

राजेशलाई एक दिन आफ्नी श्रीमती पनि त्यसैगरी आफ्नै खुट्टामा उभिएर हिँड्न सक्छिन् भन्ने विश्वास छ।
‘उनी आफ्नै खुट्टामा उभिएर हिँड्डुल गर्न सक्ने र आफ्नै हातले खाना खान सक्ने भए मलाई पुग्छ, अरू केही चाँहिदैन,’ उनले भने।

राजेशका अनुसार सुनिताको अवस्थामा पहिलेको भन्दा केही सुधार भएको छ। उनी थोरै बोल्न सक्ने भएकी छन्। डाक्टरले उनी आफैं हिँड्न सक्ने हुन कम्तीमा दुई(अढाई वर्ष लाग्छ भनेका छन्।

‘डाक्टरले टाउकोमा गम्भीर चोट लागेको हुँदा सुनितालाई यस्तो भएको र दुई-अढाई वर्षसम्म विस्तारै सुधार हुँदै जान्छ भन्नुभएको छ। म सुनितालाई ठिक नहुँदासम्म यसैगरी सेवा गरिरहने छु,’ राजेशले भने।

उनलाई साहुको ऋण कसरी तिर्ने भन्ने पीरले भने सताइरहन्छ। राजेश आफैं रेखदेखमा रातदिन खटिनु पर्दा ऋण थपिएको छ। पाँच महिनादेखि अर्धचेत अवस्थाकी श्रीमतीलाई उनले कहिल्यै छोडेका छैनन्। सोही कारण स्काभेटर अपरेटिङको काम पनि गुमाउनु परेको छ। पाखोबारी बाहेक उनीहरूको थप सम्पत्ति छैन।

‘मैले भएभरको सबै सिध्याइसकें र अब ऋण माग्दा पनि कसैले दिँदैन,’ उनले भने, ‘पैसाको अभावमा अचेत सुनितालाई अस्पतालबाट निकाल्नुपर्दा मन निकै रोएको छ। भगवानले केही न केही बाटो देखाउनु हुन्छ होला भन्ने आशा छ।सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com