Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

लमजुङमा सामूहिक भोज खाएका एक जनाकाे ज्यान गयाे, २९ जना बिरामी

लमजुङ – लमजुङमा क्रिसमसको उपलक्ष्यमा आयाेजना गरिएकाे सामूहिक भोज खाएकामध्ये एक जनाको ज्यान गएकाे छ । २९ जना बिरामी परेका छन् । 

बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भइ सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ मा रहेकाे क्षेत्रबहादुर गुरुङको घरमा शुक्रवार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खानुभएको थियो । त्यसपछि उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडीसीएस नमुना सामुदायिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीया छोरी विद्यासहित २९ जना अहिले अस्पतालमा उपचारत छन् ।  भोज खाएका त्यही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिवारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । भोजमा उनीहरुले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com