Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पाल्पाकाे रामपुरमा पनि व्यावसायिक कालिजपालन

पाल्पा – पाल्पाकाे रामपुरमा व्यावसायिक कालिजपालन शुरु भएकाे छ । यस क्षेत्रमा नयाँ व्यवसायको रुपमा मनिम रानाले कालिजपालनकाे थालनी गर्नुभएको हाे । पाल्पाकाे रामपरु नगरपालिका–४ काे बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले कालिजपालन व्यवसाय शुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो । व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताउनुभयो । गएको जेठमा उहाँका छोरा मनिम रानाले यो व्यवसाय शुरु गर्नुभएको थियो ।

‘छोराको रहरले शुरु गरेको व्यवसाय अहिले मैले रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय हुँदा धेरै रेखदेख गर्नुपर्ने रहेछ, अब बिक्री गर्न लायकको हुन थालेको छ,’ लोकमायाले भन्नुभयो । उहाँको फार्ममा हाल एक सय ५० वटा कालिज छन् । गएको जेठमा पोखराबाट पाँच सय चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको उहाँले बताउनुभयो । नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको उहाको भनाइ थियो । जङ्गलको बीचमा व्यवसाय भएकाले वन बिरालो, सर्प पसेर चल्ला झम्टने, मार्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले एउटा चल्ला चार सय रुपैयाँमा खरिद गरेर पाल्न थाल्नुभएको हो । करिब चार रोपनी जग्गा भाडामा लिएर आफूसँगै एक जना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिनुभयो । पहिलो पटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्को पटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त  भएको उहाँको अनुभव छ ।

रामपुरलाई कालिजपालनमा चिनाउन, गाउँका जग्गा छाडेर सहर बजारमा जाने क्रम बढेकाले गाउँमै बसेर पनि केही गरियो भने आयआर्जन गर्न सकिने रहेछ भनेर यहाँ व्यावसायिक रुपमा कालिजपालन शुरु गरेको उहाँको भनाइ छ । करिब ३० लाख रुपैयाँको लगानीमा व्यवसाय सञ्चालन गरिएको छ । अहिले यस क्षेत्रमा भाले कालिज तीन हजार र पोथी दुई हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेको छ।

कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ । कालिज विशेषतः छदेखि आठ महिनामा बिक्रीका लागि योग्य हुन्छ । कलिलो तथा नरम घाँस, घरमै खस्रो बनाएर पिसेको गहुँ तथा मकैको दाना कालिजको आहारा हो । कालिजको मासुको माग पछिल्लो समय अत्यधिक मात्रामा बढ्दो छ । कालिजपालन व्यवसायमा पछिल्लो समय युवाको आकर्षण बढिरहेको देखिन्छ । अहिले बजारमा कालिजको माग बढ्दो छ । बजार मूल्य राम्रो हुन थालेपछि यसको व्यावसायिक पालनमा आकर्षण बढ्न थालेका हुन् ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com