Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

सेना र सशस्त्रका कर्मचारीलाई दसैंमा घर फर्कन यातायात सुविधा

facebook sharing button


नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैंका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ। आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ।
 
नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादसैंमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको जानकारी दिएको छ। 

निर्देशनालयका अनुसार सडक सञ्जालको पहुँच पुगेका स्थानमा सवारीसाधन (बस) मार्फत् चार सय २१ जनाले हालसम्म सेवा पाएका छन्। यस्तै सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रलगायत लामो दूरीका गन्तव्यमा हवाई उडानमार्फत छ सय पाँच जना गरी हालसम्म एक हजार २६ जना सकलदर्जा एवं आश्रित परिवारले सेवा पाएका जानकारी दिइएको छ । उक्त सुविधा सेनाले यही कात्तिक २ गतेसम्म उपलब्ध गराउने छ। 

सशस्त्र प्रहरीले भने निःशुल्करूपमा सुरु गरेको सेवा आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाएको छ। सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार सशस्त्र प्रहरी बल नेपालले बडादसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई लक्षित गरी निःशुल्क दुई बस  सञ्चालन गरेको छ।

चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताए।यसअघि सशस्त्र प्रहरीले बडादसैंका अवसरमा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेको थियो। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com