Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

७ घण्टा ऊँटको ढाडमा यात्रा गरेपछि बच्चा जन्माएकी यमनी मोनाको कथा

मोनाको घर अस्पतालबाट ४० किलोमिटर टाढा छ । प्रसव पीडा हुँदा उनका लागि जीवनरेखा बन्यो एउटा ऊँट ।

उत्तर-पश्चिमी यमनको महवित प्रान्तको गाउँ अल-मकरामा बस्ने १९ वर्षीया मोनालाई अस्पताल पुग्न सानोतिनो चुनौती थिएन । 

अस्पताल बानी सादमा थियो । पहाडमा रहेको उनको घरबाट अस्पताल २५ माइल अर्थात् ४० किलोमिटर टाढा थियो । यस हिसाबले घरबाट अस्पताल पुग्न उनलाई चार घण्टाको समय लाग्थ्यो । तर, सडक नहुनु र मौसम खराब हुनुले यो यात्रा तय गर्न उनलाई ७ घण्टा लाग्यो । 

यात्राका क्रममा मोना लगातार प्रसव पीडा झेलिरहेकी थिइन् । भन्छिन्, ‘ऊँटको हरेक पाइलाले मेरो ज्यान लिँदै गरेजस्तो लागिरहेको थियो ।’

आधा बाटोमा ऊँट पनि अगाडि बढ्न सकेन । अनि मोना ऊँटको ढाडबाट ओर्लिइन् । बाँकी बाटो अब उनले आफ्ना श्रीमान्‌सित हिँडेर गर्नुपर्ने भयो । यमनको महावित प्रान्तमा बानी साद एउटै अस्पताल हो, हजारौँ महिलाका लागि उपचारको एक मात्र ठेगाना । मोनाको गाउँ अस्पताल पुग्न दुई मात्र तरिका छन्, ऊँटको डँडेल्नामा बसेर पहाडी बाटो पार गर्नु वा पैदलै हिँडेर पुग्नु । 

मोना यात्राका क्रममा जति समय ऊँटमा बसिन्, उनलाई आफू र गर्भको बच्चाको सुुरक्षालाई लिएर चिन्ताले सताइरह्यो । 

उनी भन्छिन्, ‘पहाडको बाटो उकालीओराली हुन्छ । यो यात्रा मानसिक र शारीरिक रूपमा निकै थकानपूर्ण थियो । कुनैकुनै बेला त मलाई तिमी भए ठाउँ बोलाएर मुक्ति देऊ अनि मेरो बच्चालाई बचाइदेऊ भन्दै अल्लाहसँग प्रार्थना गरिरहेकी थिएँ ।’

उनी कतिबेला अस्पताल पुगिन् र उपचार भयो भन्ने कुरा उनलाई याद छैन । आफ्नो आँखा खुल्दा बच्चा डाक्टर र नर्सको हातमा थियो । 

मोना र उनका श्रीमान्‌ले आफ्नो छोराको नाम जारा राखेका छन् । जारा ती डाक्टरको नाम हो, जसले मोना र उनको बच्चाको उपचार गरी ज्यान बचाएका थिए । 

अस्पतालआसपासका गाउँबाट यहाँसम्म पुग्ने बाटो निकै कठिन छ । केही ठाउँमा पहिरो गएको छ । कतै वर्षौंको युद्धका कारण बन्द छ । 

आठ वर्षयता यमनमा सरकार समर्थित सेना (जसलाई साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाको समर्थन छ) र इरान समर्थित हुती विद्रोही गुटबीच संघर्ष चलिरहेको छ । 

यसको ठूलो असर यहाँका गाउँ र त्यहाँसम्म पुग्नुपर्ने सुविधामा परेको छ । यहाँ अक्सर  महिला र परिवारका अन्य सदस्यले पहाडी बाटो पार गरेर अस्पताल पुग्नमा गर्भवतीलाई सघाइरहेका देखिन्छन् । 

३३ वर्षकी सलमा अब्दुले एक गर्भवती महिलालाई अस्पताल लैजान मद्दत गरेकी थिइन् । यात्राका क्रमा आधा बाटोमा आफूले अर्की गर्भवतीको शव देखेको उनी सम्झिन्छिन् । ती महिलाको मृत्यु रातमा यात्रा गर्दागर्दै भएको थियो । 

सलमा मानिसहरूसँग महिला र बच्चाको दया गर्न गुहार लगाउँछिन् । भन्छिन्, ‘हामीलाई सडक चाहियो, अस्पताल र औषधि पसल चाहियो । हामी एक तरिकाले यो दलदलमा फसेका छौँ । यस खालको कठिन यात्रा गर्ने क्रममा धेरैले ज्यान गुमाइसकेका छन् ।’ 

यद्यपि, यहाँ समस्या अस्पतालसम्म पुग्नु मात्र होइन, गरिबी यहाँको अर्को ठूलो समस्या हो । कतिपय परिवार त यस्तो छ, जोसँग अस्पतालसम्म पुग्ने संसाधन नै छैन । 

यमनमा काम गरिरहेको संयुक्त राष्ट्र संघ, युनाइटेड नेसन्स पपुलेसन फन्ड (यूएनएफपीए) का हिचाम नाहरोको भनाइमा, यमनमा हरेक २ घण्टामा एक महिलाको मृत्यु प्रसूतिका क्रममा हुन्छ तर उनीहरूको ज्यान बचाउन सकिन्थ्यो । 

हिचाम नाहरो भन्छन्, ‘यमनका ग्रामीण क्षेत्रमा महिलालाई नियमित स्वास्थ्य परीक्षण पनि थाहा हुँदैन । गर्भवती महिलालाई समयभन्दा पहिले ब्लिडिङ हुने वा अचानक अत्यन्तै दुखाइ हुनेजस्ता समस्यामा तुरुन्तै मद्दत मिल्दैन ।’

यूएनएफपीएका अनुसार, प्रशिक्षित डाक्टरको निगरानीमा गर्भवती महिलाको उपचार भएका न्यून घटना मात्रै देख्न सकिन्छ । 

प्रसूतिको एकतिहाइ घटना अस्पतालसम्म पुगिरहेको छ । संस्थाको भनाइमा यमनको आधाभन्दा कम जनसंख्याले अस्पताल पुग्नका लागि कम्तीमा १ घण्टाको यात्रा गर्नुपर्छ ।

युद्धभन्दा अगाडि यमनमा अहिलेको जस्तो नाजुक अवस्था थिएन भन्नेचाहिँ होइन । युद्धअघि पनि यहाँको स्वास्थ्य व्यवस्थाको स्थिति ठीक थिएन । तर, युद्धका कारण यमनका सडक र भएको अस्पतालमा पनि भारी नोक्सान भयो । 

अहिलेको अवस्था यस्तो छ, यहाँ बिरामीलाई बेलैमा अस्पताल पुर्‍याउन लगभग असम्भव छ । भएका अस्पतालमा प्रशिक्षिक डाक्टरको अभाव छ । औषधि र स्वास्थ्य उपकरण पनि छैन । सडक र ढाँचागत सुविधामा हुने लगानी गत वर्षदेखि बन्द छ । 

यूएनएफपीएका अनुसार, यहाँ पाँचमध्ये एक अस्पतालमा आवश्यक स्वास्थ्य सुविधा छ । मोनाको कथा यमनमा गर्भवती महिलाले झेल्नुपरिरहेको समस्याको एक उदाहरण हो । 

यमनमा ८० प्रतिशत मानिसको निर्भरता राहतमा पाउने सामान हो । यहाँ एक ठाउँबाट अर्को ठाउँ जान मानिसहरूसँग कारजस्ता कुनै साधनको कुरा गर्नु पनि निरर्थक छ । 

हालियाका श्रीमान्‌ले बचाएको पैसा आफ्नी श्रीमतीलाई अस्पतालसम्म लैजान खर्च गरे । यो पैसा उनले त्यो बेलादेखि बचाइराखेका थिए, जति बेला उनी साउदी अरबमा काम गर्थे । 

हालियालाई प्रसव पीडा सुरु भएपछि उनका देवरले उनलाई मोटरसाइकलमा राखेर अस्पतालतिर लागे । तर, बाटोमा उनी मोटरसाइकलबाट खसिन् । उनलाई कसैगरी धामारको हदाका स्वास्थ्य चौकी पुर्‍याइयो । त्यो बेलासम्म उनको स्वास्थ्य अवस्था निकै बिग्रिसकेको थियो । उनलाई तत्कालै सर्जरीका लागि लगियो । ३० वर्षकी हालिया भन्छिन्, ‘मेरो जीवनको अन्तिम घडी आइपुगेजस्तो लागेको थियो । आफू र बच्चाको ज्यान बच्छ भन्ने आशा मैले मारिसकेकी थिएँ ।’ 

गर्भावस्थाका क्रममा डाक्टरले उनलाई चेतावनी दिएका थिए, अधिक रक्तस्राव र गर्भाधारणसँग जोडिएको समस्याका कारण घरमा प्रसूति गराउनु उनका लागि खतरनाक हुन सक्छ । 

स्वास्थ्य केन्द्रका डाक्टरबाट आफूले छोरी पाएको हालियाले थाहा पाइन् । हालियाले आफ्नी छोरीको नाम अमाल राखेकी छन् । अरबी भाषामा यो शब्दको अर्थ हुन्छ ‘आशा’ ।

उनी भन्छिन्, ‘मैले आफ्नी बच्ची लगभग गुमाइसकेकी थिइनँ । यो युद्धका कारण मैले मेरो जिन्दगी गुमाइसकेकी थिएँ भनेर पनि तपाईं भन्न सक्नुहुन्छ । मेरी बच्चीले मलाई एक नयाँ आशा दिएकी छिन् ।’ 

तर, यमनले पाइरहेको अन्तर्राष्ट्रिय मद्दत बिस्तारै कम भइरहेको छ । यस्तोमा बानी सादजस्ता अस्पतालले पाइरहेको सहयोग पनि कटौती हुँदैन । अस्पतालका डाक्टर आफूहरूलाई आमा र बच्चाको चिन्ता रहेको बताउँछन् । उनीहरूको ठूलो चिन्ताचाहिँ के छ भने, कुनै  यस्तो स्थिति देख्न नपरोस्, जहाँ उनीहरूले कसको उपचार गर्ने, कसको नगर्ने भनेर चुन्नु परोस् ।बीबीसी हिन्दी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com