Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बझाङमा दैनिक छात्रा बेहोस हुन थालेपछि एक सातालाई विद्यालय बन्द

बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका थिए । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए । उनले भने, ‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एक जना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुन थाले । उद्धारमा खटिएका शिक्षिकालाई समेत समस्या भयो ।’

पहिलो दिन बेहोस भएका सबैलाई घर पठाए पनि दोस्रो दिन स्वास्थ्यचौकीमा पुर्याएर उपचार गराइएको उनले बताए । बेहोस भएका छात्राहरू नबोल्ने तथा इसाराले घाँटी च्यापिएको बताउने, आँखा फर्काउने गर्दछन् ।

बेहोस भएका केही छात्राहरूको घरमा धामी बसाएपछि होसमा आएको शिक्षक मुरलीधर अवस्थीले बताए । उनले भने, ‘अघिल्ला वर्षहरूमा पनि यस्तो समस्या देखिएको थियो । अधिकांश छात्राहरू धामी चलाएपछि निको हुन्छन् । नजिकै मसानघाट रहेकाले स्थानीयवासीले मसान लागेको आशंका गरेका छन् ।’

विद्यार्थीहरूमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो । उनीहरूमा मास हिस्टेरीया भएको डाक्टर ईश्वर बलामीले बताए । उनले भने, ‘सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ । त्यसको जाँच गर्नुपर्छ । यो समस्याका लागि आइसोलेशनमा बस्नुपर्छ । सबै छात्राहरू एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केही दिन छुट्टाछुट्टै राख्नुपर्छ ।’

चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामीले बताए । एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमा समेत यस्तो समस्या आउने डाक्टर बलामीको भनाइ छ । यस्ता छात्राहरूमा केही अन्य स्वास्थ्य समस्याहरू देखिएमा अस्पताल पुर्याउन उनको सुझाव छ ।

विद्यालयमै पुगेका डाक्टर बलामीले एक घण्टा शिक्षकहरूलाई सहजीकरण गरेका छन् । उक्त समस्या दार्चुला र बैतडीका समेत केही विद्यालयहरूमा देखिँदै आएको छ । रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com