Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

छोराहरूको भविष्य बनाउन दुबई पुगेकी थिइन् आमा, गएको २५ दिनमै बिते उनीहरू

कपिलवस्तु बुद्धभूमि १ कपासीकी गीता भुसाल २५ दिनअघि मात्रै दुबई गएकी थिइन्। घरको गर्जो धान्न उनी रोजगारीका लागि दुबई गएकी हुन्।

भारतमा रोजगारी गरिरहेका श्रीमान बाबुरामले गत वैशाख ७ गते आत्महत्या गरेपछि परिवारको जिम्मा गीता एक्लैको काँधमा आइलागेको थियो। वृद्ध अवस्थाका सासू, ससुरा र दुई नाबालक छोराहरूको जीवन सम्भार्ने जिम्मेवारी उनकै भयो।

श्रीमानको काजकिरिया सकेपछि छोराहरूको उज्यालो भविष्य बनाउने सपना देखेर उनी दुबई गइन्।

तर गएको तीन एक महिना पनि नहुँदै उनीमाथि बज्रपात पर्‍यो। मंगलबार बिहानै उनले आफ्ना दुवै नाबालक छोराको मृत्युको खबर सुन्नुपर्‍यो।

गीताका छोराहरू; ११ वर्षे दीपक र ९ वर्षे प्रदीप हजुरबुवा-हजुरआमा (गीताका सासूससुरा) सँग बस्थे। दुवै जना गोरूसिंगेको पारिजात बोर्डिङ स्कुलमा पढ्दै थिए।

सोमबार उनीहरू दिनभरि स्कुलमा पढेर घर गएपछि खाना खाइवरी हजुरआमासँगै सुतेका थिए।

उनीहरूको एकतले घरको कोठामा हजुरबुवा खाटमाथि सुते भने दुवै नाति लिएर हजुरआमा भुइँमा सुतिन्।

मध्यरात एक बजेतिर प्रदीप र दीपक दुवै पेट दुख्यो भन्दै बिउँझिए। हजुरबुवा-आमाले खानपिनको खराबीले दुखेको होला भनेर घरेलु उपचार गर्न थाले। पेटबाट सुरू भएको दुखाइ घाँटी हुँदै पूरै शरीरमा फैलियो।

दुखाइ बढ्दै जाने र सास फेर्न पनि गाह्रो हुँदै गएपछि वृद्ध दम्पतीले झारफुक गराउन भन्दै छिमेकको घरमा लगे। प्रदीप र दीपकको अवस्था झन् बिग्रिँदै थियो।

छट्पटाहट बढ्दै गएपछि छिमेकीको सहयोगमा बिहान साढे तीन बजेतिर उनीहरूलाई गोरूसिंगेकै बुद्ध पोलिक्लिनिकमा पुर्‍याइयो। त्यहाँ पुर्‍याउँदा दुवै बालक अचेत भइसकेका थिए।

स्वास्थ्यकर्मीले बालकको अवस्था हेर्दा दुवैलाई विषालु सर्पले टोकेको हुनसक्ने भन्दै तत्काल बुटवल लैजान सुझाव दिए। उनीहरूको तिघ्रामा सर्पले टोकेको डाम समेत देखिएको पोलिक्लिनिकले जनाएको छ।

बालकका हजुरबुवा-आमालाई भने कोठामा सर्प नदेखिएकाले सर्पले टोकेकोमा विश्वास गर्न मुश्किल भइरहेको थियो। उनीहरूले स्वास्थ्यकर्मीको सुझावअनुसार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याए पनि प्रदीपको बाटोमै र दीपकको उपचारका क्रममा बिहान मृत्यु भयो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका इमर्जेन्सी इन्चार्ज शिव कुँवरले अस्पताल ल्याएपछि दुवै बालकलाई मृत घोषणा गरिएको बताए।

‘उनीहरूको मृत्यु सर्पले टोकेर भएको हो,’ उनले भने।

इलाका प्रहरी कार्यालय गोरूसिंगेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले पनि दुवै बालकको मृत्यु सर्पको टोकाइबाट भएको बताए।

कपिलवस्तु सर्पदंश उपचार केन्द्रले बालकहरूको सर्पले टोकेर मृत्यु भएको तथ्यांकमा चढाएको जनाएको छ।

बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तेजबहादुर बस्नेतले सर्पले टोकेको भन्ने संकेत पाएर राती नै अस्पताल पुर्‍याउन सकेको भए बालकहरूलाई बचाउन सकिने बताए।

‘सर्पले टोकेको होला भन्ने शंका समेत नहुँदा र झारफुकतर्फ लाग्दा उपचारमा ढिलाइ भयो र बालकहरूको मृत्यु भयो,’ वडाध्यक्ष बस्नेतले भने।

दुई बालकको मृत्युले अहिले भुसाल परिवार मात्र नभई सिंगो गाउँ नै शोकमग्न बनेको पनि उनले बताए।

‘साढे दुई महिना मात्र भएको थियो ती बालकहरूको बुवाको मृत्यु भएको। उनीहरूको भविष्यका लागि भन्दै आमा दुबई जानुभएको थियो। दुवै छोराको मृत्युको खबर थाहा पाएपछि २५ दिनमै घर फर्किँदै हुनुहुन्छ,’ उनले भने।

बस्नेतका अनुसार छोराहरूको मृत्युको खबर पाएपछि गीता दुबईबाट आउँदै छिन्। बालकहरूको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।

बालकहरूको मृत्यु भएपछि हजुरआमा बसन्तालाई पनि सर्पले टोकेको हुनसक्ने आशंकामा कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा निगरानीमा राखिएको छ। केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार बसन्तालाई अहिलेसम्म सर्पदंशको कुनै लक्षण भने देखिएको छैन। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com