Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

इजलासमा सन्दीपको बयान : ‘मलाई कसैको उक्साहटमा फसाइयो’

काठमाण्डौ – १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज मङ्गलवार सन्दीपको बयान भएको हो ।

नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले हिजो सोमवार अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्र दायरपछि अदालतमा आज सन्दीपको बयान भएको हो ।

सन्दीपसँग बयान लिने काम सकिएकाले भोलि बुधवारदेखि थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताउनुभयो । सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएको उहाँको भनाइ छ । उहाँले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सन्दीपले आफूप्रति जबरजस्ती करणीको अभियोग बदनियतका साथ कसैको उक्साहटमा लगाइएको हो भनेर बयान दिनुभएको छ र आफ्नो बयान पुष्टि हुने विभिन्न किसिमका प्रमाणहरू पनि पेस गर्नुभएको छ । प्रमाण भनेको पीडित भनिएकी व्यक्तिको हकमा जन्मदर्ताको विषयवस्तु हो, जन्मदर्ताका प्रमाण केही भेटिएका छन् ।’

पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टहरूको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको उहाँले बताउनुभयो । किशोरीको बयान शङ्कास्पद रहेकाले उसको जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने उहाँको भनाइ छ ।

सन्दीपमाथि गएको भदौ ५ मा काठमाण्डौको एक होटेलमा एक १७ वर्षीया बालिकालाई लगेर बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । उज्यालो बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com