Yeti Khabar

२०८१ बैशाख २९, शनिबार - Sat May, 2024 -

यसपटक केही गर्दैछन् नारायणकाजी, एक महिनामा देखाए पाँच काम

यसपटक केही गर्दैछन् नारायणकाजी, एक महिनामा देखाए पाँच काम

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे प्रस्तावमा मन्त्रिपरिषद्‌ले २० चैतमा सुत्र परिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा उपप्रधानमन्त्री र गृहसचिवले खर्च गर्ने प्रणाली) खारेज गर्‍याे ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिराेहविरूद्ध नेपाल प्रहरीले अनुसन्धान गरिरहेकाे छ । त्यसमा उपप्रधानमन्त्री श्रेष्ठकाे साथ र निर्देशन छ । यस्ता ठगी र अपराध गर्नेहरूविरूद्ध विधिसम्मत ढंगले निर्मम कदम चाल्ने उनले संसदलाई जानकारी गराइसकेका छन् । साेहीअनुसार दाेषी उम्किने गरी कुनै हस्तक्षेप नगर्ने भन्दै प्रहरीकाे मनाेबल बढाइरहेका छन् ।

यी दुई कामले कुरा सधैँ ठूला र आदर्शकाे गर्ने तर, माैका पाउँदा कुनै उपलब्धिमूलक काम देखाउन नसक्ने भनेर आलाेचित श्रेष्ठप्रति आशा जगाएकाे छ । पछिल्लाेपटक नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिव, सांसद् र पूर्वमन्त्रीलाई अनुसन्धानमा तान्ने प्रहरीकाे मनाेबल उनै उपप्रधानमन्त्री श्रेष्ठले बढाइदिएका हुन् ।  

उपप्रधानमन्त्री भएको तीन दिनमा श्रेष्ठले २०४७ सालमा सुरु भएको सुत्र परिचालन कार्यविधि खारेज गराए । ३२ वर्षदेखि गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा बेहिसाब खर्च गर्न पाउने प्रावधान श्रेष्ठको प्रस्तावमा खारेज भएको छ । २०४७ जेठदेखि गरिँदै आएको यो खर्च १३ जेठ २०५० देखि मन्त्रिपरिषद् बैठकले संस्थागत गराएको थियो । पछिल्लोपटक १४ असाेज २०७८ मा मन्त्रिपरिषद् बैठकले सचिवले गर्ने एकपटकको खर्च २० हजारबाट बढाएर २५ हजार पुर्‍याएको थियो ।

२०४७ जेठदेखि गृहमन्त्री र सचिवले खर्च फाँटबारी देखाउन नपर्ने गरी मनोमानी रूपमा रकम बुझ्दै आएका थिए । यस्तो रकमको हिसाब महालेखापरीक्षकको वार्षिक लेखा परीक्षणमा समेत उपलब्ध हुँदैनथ्यो । जसका कारण मन्त्री र सचिवले दैनिक सरदर क्रमशः ५० हजार र २५ हजार रुपैयाँ बुझ्ने गरेका थिए । आर्थिक वर्ष २०७८/०७९ मा मात्रै सचिवले करिब ९३ लाख र मन्त्रीले ७६ लाख रुपैयाँ बुझेको देखिन्छ ।

पछिल्लो ३२ वर्षमा उक्त शीर्षकमा मन्त्री र सचिवले २४ करोड ५० लाखभन्दा धेरै राज्यकोषबाट लिएका छन् । साेही कारण मन्त्री र सचिवका लागि सबैभन्दा बढी आकर्षक मन्त्रालय गृह नै हुने गरेको थियो ।  तर, श्रेष्ठले तीन दिनमै उक्त पैसा खर्च गर्ने बाटो बन्द गरिदिए ।

भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १३ चैतबाट संलग्नहरूलाई पक्राउ गर्न सुरु गरेको थियो । तर, त्यसपछि लगभग एक महिनाभन्दा बढी समय प्रहरी अगाडि बढेको थिएन । तर, श्रेष्ठकाे ग्रिन सिग्नल पाएपछि प्रहरी प्रशासनले पनि तीव्र गतिमा एक्सन लिएको छ । बहालवाला सचिव टेकनारायण पाण्डे र पूर्वमन्त्री एवं एमाले सचिव टाेपबहादुर रायमाझीपुत्र सन्दीप रायमाझी बुधबार पक्राउ परेका छन् ।

भ्रष्टाचार मुद्दामा आईजीपीहरू जेल गएका उदाहरण छन् । गृहमा सचिव हुँदा आईजीपीलाई नै फुली लगाइदिने सचिव पक्राउ परेका छन् । पूर्वमन्त्री तथा एमाले सचिव  रायमाझीको नाममा पनि पक्राउ पुर्जी जारी भएको छ । 

उप्रधानमन्त्री श्रेष्ठले अपराध गर्ने दोषी जति नै शक्तिशाली वा पहुँचवाला भए पनि नछोड्ने बताएको केही दिनमै उनको भनाइ कार्यान्वयन भएको छ । यो प्रकरणमा गृह मन्त्रालयका तत्कालीन सचिव, उपप्रधानमन्त्रीका सुरक्षा सल्लाहकार र पूर्वमन्त्रीका छोरा पक्राउ परिसकेका छन् । उनीहरूलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेकाे छ ।

वैशाख ५ गते श्रेष्ठको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद कानुनविपरीतको ‘नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि–२०७९’ र सोअनुरुप निजी कम्पनीलाई दिइएको इजाजत खारेज गर्ने निर्णय गरेकाे छ । उक्त कार्यविधि जारी गर्ने क्रममा भएका विषयउपर छानबिन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णयसमेत भयो । 

राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका जैविक र वैयक्तिक विवरण रुजु गर्ने संयन्त्र तत्कालीन उपप्रधानमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेले फ्रेन्च कम्पनी आईडीएमईको नेपाल प्रतिनिधि एड्भान्टेज इन्टरनेसनललाई ठेक्का दिन कार्यविधि स्वीकृत गराएका थिए । १० वर्षमा नागरिकबाट कमिसनबापत १ अर्ब उठाउने प्रस्तावसहित आएको कम्पनीलाई ऐनविपरीत हतारहतार ठेक्का दिन रविले कार्यविधि ल्याएको आरोप लागेको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अहिलेसम्म करिब १ करोड २० लाख नागरिकका व्यक्तिगत (तीनपुस्ते) तथा जैविक (अनुहार, आँखाको रेटिना र औँठाछाप) विवरण संकलन गरिसकेको छ । सार्वजनिक सेवा लिन हरेक अड्डामा कागजपत्र बुझाउनुपर्ने झन्झट हटाउन यो कार्यक्रम सुरु गरिएको हो । सुरुमा करिब १ करोड नागरिक, ५० हजार निजी संघसंस्था तथा १० हजार सरकारी/सार्वजनिक निकायलाई यस प्रणालीमा समेट्ने सरकारी योजना थियो ।

तर, यो विषयमा विवाद उठेपछि श्रेष्ठले खारेज गर्ने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गरेका थिए । जुन मन्त्रिपरिषद्‌बाट पास भएर आएको छ ।

श्रेष्ठ गृह मन्त्रालयमा आएको दोस्रो दिन १८ चैतमा मिटरब्याजविरुद्धको संर्घष समिति र सरकारी वार्ता टोलीबीच पाँचबुँदे सहमति भयो । मिटरब्याजपीडितहरूको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको छ । आयोगलाई तीन महिनाको समयावधि दिइएको छ । आयाेगमा पूर्वन्यायाधीश कार्की, पूर्वनायब महान्यायाधिवक्ता गणेशप्रसाद अर्याल र पूर्वएआईजी उत्तमराज सुवेदी छन् । 

१६ वैशाखमा उपप्रधानमन्त्री श्रेष्ठले गरिबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका थिए । उनले राजनीतिक पहुँचका भरमा कुनै पनि मिटरब्याजीलाई उन्मुक्ति नदिने घोषणा गरे। 

१७ वैशाखमा श्रेष्ठले जनकपुरधाम, धनुषामा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालयको उद्घाटन गरे । वैशाख १९ मधेश प्रदेशका जिल्लाको शान्ति सुरक्षा, मिटरब्याजीलगायतका विषयमा श्रेष्ठले आफैँ उपस्थित भएर धनुषा, जनकपुरमा छलफल गरे । काठमाडौंमा मात्र होइन, सबैभन्दा बढीपीडित भएका जिल्लामा गएर छलफल गरेका छन् । उनले तुरुन्तै परिणाम आउने गरी काम गरिरहेका छन् । 

यो विषयमा अहिले पनि तीव्र रूपमा काम भइरहेको छ । मिटरब्याजपीडितहरू जिल्लाजिल्लामा उजुरी दिइरहेका छन् । सानासाना आन्दोलन भइरहेका भए पनि २ चैतमा सर्लाहीबाट ७०–८० जना पीडितहरू पैदल मार्च गरेर ११ दिनपछि काठमाडौँ आइपुगेका थिए । सरकारले तत्कालै उनीहरूसँग वार्ता सुरु गरेको थियो । पटकपटकको वार्तापछि पाँचबुँदे सम्झौता भएको छ । पीडकलाई कानुनको दायरामा ल्याउन सरकारले अध्यादेश नै ल्याइसकेको छ । 

मिटरब्याजपीडितलाई १७ वैशाखबाट निवेदन दिन आह्वान गरिएको छ । जुन वैशाख ३१ गतेसम्म दिनुपर्ने आयोगले जनाएको छ । मिटरब्याजपीडितले आफूसँग उपलब्ध रहेका सबुत प्रमाणसहित अनलाइनबाट सिधै आयोग वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध गराएको छ । निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइदिने प्रबन्ध आयोगले मिलाएको छ । देशभरि घरबास नै उठिबास भएका पीडितकाे संख्या ७–८ हजारको हाराहारीमा रहेकाे बताइन्छ । 

श्रेष्ठले पदभार ग्रहरण गर्दा आफू अनियमितता नगर्ने प्रतिबद्धता जनाएका थिए । उनले गृह मन्त्रालयको जिम्मा लिएपछि सरुवा र बढुवामा पनि कुनै हस्तक्षेप नभएको प्रहरी अधिकृतहरू बताउँछन् । उनी उपप्रधानमन्त्री भएपछि १८ जना एसपी एसएसपीमा बढुवा भए । १३ जना एसएसपीबाट डीआईजीमा बढुवा भए । 

उपप्रधानमन्त्री श्रेष्ठ १७ चैतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हटी गृह मन्त्रालयको जिम्मेवारीमा आएका थिए ।शिलापत्र बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com