Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

नुवाकोटमा शल्यक्रियामार्फत् भैँसीलाई सुत्केरी गराइयो

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–१ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमवार हिजो शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ ।

नुवाकोटमा पशुचौपायाको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा बबलु ठाकुरले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा रहेको प्राविधिक टोलीले ब्यथा लागेको एक हप्तासम्म ब्याउन नसकी छटपटाएको भैँसीको त्यही गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको शल्यक्रिया सफल भएको हो ।

सुत्केरी हुन समय पुगेको भैँसी ब्यथा लागेको एक हप्तासम्म पनि ब्याउन नसकेपछि एकमात्र अन्तिम विकल्पको रुपमा रहेको शल्यक्रियामार्फत् पेट चिरेर पाडो निकालियो । पशु सेवा विज्ञ केन्द्रका डा ठाकुरले भन्नुभयो, पेटमा नै बच्चा (पाडो) मरेको भएर सुत्केरी हुन नसकेको रहेछ, शल्यक्रियापश्चात माउको स्वास्थ्य राम्रो छ । घाँसपानी खान थालेको छ ।

केन्द्र प्रमुख भरत पाण्डेले जिल्लामा पशुचौपाया ब्याउन नसक्दा पाठेघरमा हात हालेर निकाल्ने गरेको भए पनि शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक र सफलसमेत भएकाले उत्साह जगाएको बताउनुभयो । यसअघिका समयमा सुत्केरी हुन नसकी धेरै पशुचौपाया गुमाउनुपरेको थियो । अब किसानको लागि पशुधनको सुरक्षा र कार्यालयको लागि सेवा प्रवाहमार्फत् किसानको विश्वास जित्न मनोबल उच्च भएको उहाँको भनाइ छ ।

ुदरबन्दी र बजेट कटौतीले दुई जिल्ला (नुवाकोट र रसुवा) हेर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भूमिका बनिरहेको थियोु, उहाँले भन्नुभयो, दक्ष चिकित्सकको क्षमताले गोठमा नै ‘शल्यक्रिया कक्ष’ खडा गरेर जीवाणुबाट सुरक्षित बनाउनुपर्ने चुनौतीको बीच सफल भएको शल्यक्रियाले केन्द्रलाई उत्साह र किसानका लागि खुसीको सन्देश प्रवाह भएको छ ।

गएको भदौदेखि नुवाकोटमा कार्यरत पशु चिकित्सक डा बबलु ठाकुरको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको शल्यक्रियाको सफलताले नुवाकोट र रसुवाका किसानका लागि पुशधनको सुरक्षा र पशुपालनप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने देखिन्छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com