Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

आईसीसी विश्वकप : भारतबाहेकको खेलमा दर्शकको निराशाजनक उपस्थिति

sharethis sharing button

काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप उत्तरार्धतर्फ लागेको छ । प्रारम्भिक चरणका ४५ मध्ये ३७ खेल सकिएका छन् । अब प्रारम्भिक चरणमा आठ खेलमात्र खेलिन बाँकी छ ।

त्यसपछि दुईवटा सेमिफाइनल र एउटा फाइनल खेल बाँकी रहने छ ।  सहभागी १० मध्ये ६ टोलीले सातौँ चरणको खेल खेलेका छन् भने चारवटा टोलीले आठौँ चरणको खेल पनि खेलिसकेका छन् । हालसम्मको अवस्थालाई हेर्दा अधिकांश खेलमा दर्शकको उपस्थिति निकै कम देखिएको छ ।

केही खेलमा भने आवश्यकताभन्दा बढी दर्शक ओइरिने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, प्रारम्भिक चरणको ३८ खेल सकिँदासम्म कुल पाँच लाख ४२ हजार दर्शकले रंगशालामा उपस्थित भएर खेल हेरेका छन् । 

सन् २०१९ मा इङ्ल्यान्ड र वेल्समा सम्पन्न विश्वकपको तुलनामा यो दर्शक सङ्ख्या एक लाख ९० हजार बढी हो । अघिल्लो विश्वकपमा ३८ खेल सकिँदासम्म कुल तीन लाख ५२ हजार दर्शक रंगशालामा उपस्थित भएका थिए । 

अहिलेको विश्वकपका खेलहरू भारतका विभिन्न १० वटा सहरका रंगशालामा खेलाइँदै छ । हालसम्म सबै रंगशालामा कम्तीमा दुईवटा खेल खेलाइसकिएको छ । हालसम्म आयोजक राष्ट्र भारतले खेलेको सबै खेलमा दर्शकको आइरो लागेको देखिन्छ ।

तर, भारतबाहेक अन्य टोलीको खेल हुँदा भने रंगशालामा दर्शकको उपस्थिति तुलनात्मक रूपमा कम देखिएको आईसीसीले जनाएको छ । मुम्बई, बेँगलौर, चेन्नई र नयाँ दिल्लीको स्टेडियममा भने अन्य टोलीको खेल हुँदा पनि तुलनात्मक रूपमा बढी दर्शक आउने गरेको पाइएको छ । 

icc2

यी सहरहरूमा परम्परागत रूपमै क्रिकेटको संस्कृति उच्च स्तरमा रहेकाले पनि अन्य टोलीको खेल हेर्न समेत दर्शक आउने गरेको आईसीसीले जनाएको छ । यी सहरहरूमा भारत वाहेकका टोलीको खेल हुँदा पनि ८० प्रतिशत रंगशाला भरिने गरेको छ ।

तर, मुम्बई, बेगलौर, चेन्नई र नयाँ दिल्लीबाहेक अन्य सहरमा भने भारतको खेल हेर्न मात्र दर्शक रंगशालामा आउने गरेका छन् । धर्मशाला, अहमादाबादलगायतका सहरमा निकै कम दर्शकमात्र अन्य टोलीको खेल हेर्न रंगशाला आएको पाइन्छ । 

टिकट बिक्री प्रणालीलाई पनि दर्शक कम हुनुको एउटा कारण मानिएको छ । सयममै टिकट बिक्री खुला नगरिनु र विश्वकपको खेल तालिका सार्वजनिक गर्न ढिलाई गरिनुलाई पनि रंगशालामा दर्शक कम हुनुको कारणका रूपमा हेरिएको छ । 

यसका अतिरिक्त विश्वकप आयोजना गरिएका अधिकांश सहरमा चर्को गर्मी हुनु, यातायातको उपयुक्त ब्यवस्था नहुनजस्ता कारणले पनि रंगशालामा दर्शकको सङ्ख्या कम देखिएको अनुमान गरिएको छ । स्पोर्टस स्टारका लागि विश्वकपको समाचार सङ्कलन गरिरहेका ललिथ कालिदास पनि रङ्गशालाहरूमा दर्शकको उपस्थिति न्यून रहेको बताउँछन् । 

‘मेरो विचारमा विश्वकपका खेलहरू हेर्न रंगशालामा दर्शकको उपस्थिति उत्साहजनक छैन । भारतबाहेक अन्य टोलीको खेल हुँदा रंगशालाका अधिकांश सिट खाली देखिन्छन् । टिकट बिक्री प्रणालीमै समस्या हुनसक्छ,’ उनले भनेका छन् । 

यो विश्वकपको उद्घाटन खेल साबिक विजेता इङ्ल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबिच अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको थियो । एक लाख ३२ हजार दर्शक क्षमताको त्यो रंगशालामा इङ्ल्यान्ड र न्युजिल्यान्डबिचको खेल हेर्न केवल ४७ हजार दर्शक उपस्थित भएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमै दर्शकको यस्तो निराशाजनक उपस्थितिले पनि अवस्थाको चित्रण गर्छ । यसको विपरीत समर्थकहरूले टिकट बिक्री प्रणाली र रंगशालाको खाली सिटलाई लिएर आयोजकको चर्को आलोचना पनि गर्दै आएका छन् । 

‘उद्घाटन खेल हेर्न रंगशालामा केवल ४७ हजार दर्शक उपस्थित थिए । विशाल स्टेडियमको अरु सबै सिट खाली थियो । विश्वका कतिपय देशका लागि यो दर्शक सङ्ख्या पनि ठुलो होला । तर, क्रिकेट भनेपछि हुरुक्कै हुने भारतका लागि यो सन्तोषजनक अवस्था पक्कै होइन,’ कालिदास भन्छन् । 

भारतको खेल हुँदा भने रंगशालामा अवस्था फरक देखिन्छ । ‘पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा भारत र बंगलादेशबिच खेल हुँदा रंगशालामा खुट्टा टेक्नेसम्म ठाउँ थिएन । ट्राफिक जामको अवस्था पनि उस्तै थियो । समर्थकहरू स्टेडियमसम्म पुग्न तँछाड—मछाड गर्दै थिए,’ त्यो खेलको समाचार संकलनका लागि रंगशालामा उपस्थित रहेका कालिदासले भनेका छन्, ‘खेल सकिएपछि विमानस्थल पुग्न नै मलाई दुई घण्टाभन्दा बढी समय लागेको थियो ।’

यसका विपरीत पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममै दक्षिण अफ्रिका र न्युजिल्यान्डबिचको खेल हुँदा भने अवस्था नितान्त फरक थियो । स्टेडियममा खासै चहलपहल थिएन । ट्राफिक जामको पनि कुनै समस्या थिएन । जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका यी दुई टोलीबिचको खेल हेर्न मुस्किलले ३२ हजार दर्शक रंगशाला पुगेका थिए ।

यसैगरी कालिदासले चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा पाकिस्तान र दक्षिण अफ्रिकाबिचको खेलको पनि समाचार संकल गरेका थिए । उनका अनुसार, ५० हजार दर्शक क्षमताको त्यो स्टेडियममा पाकिस्तान र दक्षिण अफ्रिकाबिचको खेल हेर्न केवल २९ हजार दर्शक उपस्थित थिए । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com