Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस : यस्तो हुनेछ प्रक्रिया

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदैछ । बुधबारबाट सुरु भएको बहस बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

बुधवार निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित ७ जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट भने दुई जनाले बहस गरेका थिए । सन्दीपको तर्फबाट थप वकिलले आज बहस गर्नेछन् । बुधबारको बहसमा वादी नेपाल सरकारका तर्फबाट ४ जना सरकारी वकिल र तीन जना अधिवक्ताले बहस गरेका थिए । नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु लक्ष्मण उपाध्याय घिमिरे, महेश प्रसाद खत्री, कृष्णा भण्डारी, सहायक जिल्ला न्यायाधिवक्ता सुरवीर परियारले बहस गरेका थिए । त्यसैगरी वादीकै तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शशी अधिकारी र सुनिता रेग्मी तथा अधिवक्ता शान्ति काफ्लेले बहस गरेका थिए ।

यता प्रतिवादीका तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेलले बहस सकेका छन् । बिहीबारको बहसमा वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता बराल भण्डारी लगायतले बहस गर्ने तयारी गरिएको छ ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि आवश्यक भएमा पुनः सरकारी वकिल पक्षले प्रतिवादीका वकिलले उठाएका विषयको जवाफ दिनेछन् । त्यसपछि न्यायाधीशले थुनछेक आदेश गर्नेछन् । बुधबारको बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेस गरेको दाबी गरेका छन् । प्रतिवादीका तर्फबाट किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेस गरिएको बताएका छन् ।

गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौँ इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप क्यारेबियन लीग खेल्न जमैकामा पुगेका थिए । प्रहरीमा जाहेरी परेपछि खेल नखेली फरार भएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस समेत जारी गरेको थियो । प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप असोज २० गते काठमाडौँ आएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com