Yeti Khabar

२०७९ मंसिर १९, सोमबार - Mon Dec, 2022 -

राष्ट्रपतिद्वारा छठको शुभकामना

कात्तिक, १३ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

छठपर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिंदै उनले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गरेिन् ।

राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्, ‘छठपर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।’

राष्ट्रपति भण्डारीले छठको पावन अवसरमा विश्वभर रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।

खासगरी नेपालको तराई तथा मधेश क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठीमाताको पूजा अर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालिएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । विना भेदभाव सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर छठ पर्व मनाइन्छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com