Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

रुसमा युद्धको विरोध गर्दै प्रदर्शनमा उत्रिएका ११ सय बढी पक्राउ

युक्रेनविरूद्ध लड्न जगेडामा रहेका हजारौं सैनिकलाई बोलाउने क्रेमलिनको निर्णयविरूद्ध प्रदर्शन गरिरहेका ११ सय भन्दा बढी प्रदर्शनकारीलाई रूसी प्रहरीले पक्राउ गरेको छ।

बीबीसीका अनुसार रूसी मानवअधिकार समूह ओभीडी-इन्फोले युद्धको विरोध गर्दै प्रदर्शनमा उत्रिएका ११ सय बढीलाई रूसी प्रहरीले पक्राउ छ।

पक्राउ पर्नेमा सेन्ट पिटर्सबर्ग र मस्कोका सबैभन्दा धेरै छन्। इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा प्रदर्शनहरू भएका थिए।

युक्रेनले रूसद्वारा कब्जा गरिएको केही क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिएसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जगेडामा रहेका सेना परिचालनको आदेश दिएका थिए।

टेलिभिजनमार्फत् राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले उक्त कदम भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको बताएका थिए।

यसैको विरोधमा युद्ध रोक्न माग गर्दै प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पक्राउ गरेको हो।
मस्को अभियोजनकर्ता कार्यालयले बुधबार अनधिकृत सडक आन्दोलनमा सामेल हुन इन्टरनेटमा आह्वान गर्ने वा त्यसमा सहभागी हुने सबैलाई १५ वर्षसम्म जेल सजाय हुनसक्ने चेतावनी दिएको छ।

त्यस्ता व्यक्तिलाई सेनालाई बदनाम गरेको, युक्रेनमा रूसी सैन्य कारबाहीबारे झूटो समाचार फैलाएको वा नाबालिगलाई विरोध गर्न प्रोत्साहित गरेको आरोपमा कानुन अन्तर्गत मुद्दा चलाउन सकिने उसले भनेको छ।

राष्ट्रपति पुटिनको आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकलाई युक्रेनी युद्धभूमिमा हालै रूसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ।

रूसी कब्जामा रहेका युक्रेनी क्षेत्रहरूमा रूसमा सामेल हुनेबारे जनमतसङ्ग्रह गर्ने घोषणा गरिएको भोलिपल्ट राष्ट्रपति पुटिनले यस्तो घोषणा गरेका हुन्।

युक्रेन र उसका सहयोगी मुलुकले पुटिनको पछिल्लो अभिव्यक्तिको निन्दा गरेका छन्।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसलाई सजाय दिन राष्ट्रसंघसँग अनुरोधसमेत गरेका छन् । ‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’, जेलेन्स्कीले भने।

रुसले विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए ।
जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरे।

उनले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिन कोषको लागि आह्वान गरे । जेलेन्स्कीले संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषदमा रूसको भिटो शक्ति हटाउन पनि आग्रह गरे।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com