Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बागमती प्रदेश सरकारले वातावरण सम्मेलन आयोजना गर्ने

वातावरण संरक्षणको मुद्दामा सरोकारवालाबीच साझा धारणाका साथ नीतिगत स्पष्टता ल्याउने उद्देश्यले बाग्मती प्रदेश सरकारले ‘प्रदेशस्तरीय वातावरण सम्मेलन’ गर्ने भएको छ।
सम्मेलनको पूर्वतयारीका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले आज सरोकारवालासँग छलफल गरेका छन्।

काठमाडौंमा आयोजना गरिएको उक्त छलफलमा सरोकारवालाले सम्मेलनका नाममा सम्मेलन गर्नेभन्दा पनि वातावरण संरक्षणमा हस्तक्षेप गर्ने नीति निर्माणमा ध्यान दिनुपर्ने बताए।

सहभागीले वातावरण संरक्षणमा चुनौती देखिएको फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधता तथा वातावरण संरक्षणमा नवीन प्रविधिको अन्वेषण र प्रयोगका विषयमा गहन ढंगको छलफल हुनुपर्नेमा जोड दिए।

जलवायु परिवर्तनको असर तीव्र गतिमा बढिरहेको भन्दै उनीहरूले यसको असरबाट जोगिने उपायका बारेमा सचेत गराउँदै समुदायस्तरमा अनुकूलनका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका थिए।

वातावरण संरक्षणका निम्ति बनाइएको कानून, नियम, नीति, साझेदार संस्था तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त प्रतिबद्धताका आधारमा सम्मेलनमार्फत स्पष्ट नीति बनाइनुपर्ने उनीहरूको भनाइ थियो।

बागमती प्रदेशलाई वातावरण संरक्षणको क्षेत्रमा अग्रसरताका साथ काम गर्न अवसरका साथै चुनौती पनि रहेको जनाउँदै उनीहरूले सम्मेलनको निष्कर्षले अन्तर्राष्ट्रिय समुदायलाई पनि घच्घच्याउनुपर्ने बताए।

वातावरण संरक्षणको मुद्दामा संघ र स्थानीय सरकारका साथै निजी क्षेत्र तथा सरोकारवालालाई एकताबद्ध बनाएर लैजानुपर्ने तथा नीतिगत सुधारका बारेमा सम्मेलनले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो।
आजको छलफलले सम्मेलन आयोजनाका लागि बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय मातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख जीवनाथ पौडेलको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समितिसमेत गठन गरेको छ।

सम्मेलनबाट साझा तय गर्छौं: मन्त्री खड्का

मन्त्री खड्काले सम्मेलनबाट वातावरणका संरक्षणको मुद्दामा सरोकारवालाको साझा तय गर्ने बताए।
जलवायु परिवर्तन तथा वातावरण संरक्षणको मुद्दामा दलहरूबीच सामान धारणा नपाइएको जनाउँदै उनले सम्मेलनले सबैलाई एक ठाउँमा ल्याउने र सो विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विश्वव्यापी रूपमा वातावरण संरक्षणको क्षेत्रमा नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरणका बारेमा अन्तर्राष्ट्रियस्तरमा ‘लबिङ’ गर्नुपर्ने बताए।

‘वातावरण संरक्षणमा नेपालको महत्वपूर्ण भूमिका छ, वातावरणको मुद्दामा नेपालले अगुवाइ गर्नुपर्ने दृष्टिकोणका साथ सम्मेलनको आयोजना गरिएको हो’, उनले भने। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com