Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

धूलोले बाँच्न नसक्ने भइसक्यो, हामीलाई बचाइदिनु पर्‍यो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीका ठाकुर खनाल घरअगाडि उडेको धूलोले आजित छन्। गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडकमा दिनदिनै उड्ने धूलोको असर उनले शब्दमा बयान गर्न सक्दैनन्।

दुई वर्ष भयो धूलो खाँदै बस्नुपरेको। कति आजित र हैरान भयौं भन्ने कुरा भनिसाध्य छैन, उनले भने, धूलोका कारण कति पटक त बिरामी पनि परियो।

विगत दुई वर्षदेखि सडक भत्किएर खाल्डाखुल्डी हुँदा दुर्घटनामा धेरैले ज्यानसमेत गुमाएको उनले उल्लेख गरे। घाम लाग्दा धूलो, पानी पर्दा हिलोको समस्यामा यहाँका सर्वसाधारणले वर्षौंदेखि सास्ती खेप्दै आएको खनालले बताए।

यो समस्या समाधानका लागि धेरैपटक सम्बन्धित निकाय गुहार्‍यौं तर कहीँबाट पनि समाधान भएन,उनले भने, हैरानै भइसक्यौं।
शुक्लागण्डकी नगरपालिका–२ हलेदीका शंकर पन्तले दुई वर्षदेखि धुलाम्मे बाटोले यस ठाउँका स्थानीयवासीले हैरानी बेहोरेको बताए।

समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गरायौं। विगतमा सडक डिभिजन प्रमुखलाई कार्यालयमा पनि थुन्यौं तर काम भएन, उनले भने, विगतमा सडक टालटुल भयो, समस्या जहाँको तहीँ रह्यो।

सडक मर्मत गर्ने आश्वासन धेरै पाए पनि काम नभएको उनले गुनासो गरे।
यो बाटो बनाइदिने कसले होरु हामी त दिक्दार भयौं। मन्त्री, मुख्यमन्त्री पनि दिनदिनै यही बाटोबाट आवतजावत गर्छन् तर सुनुवाइ कहिल्यै भएन, उनले भने, धूलोले गर्दा बाँच्न नसक्ने अवस्था भइसक्यो।

उनले नागरिकलाई बचाउने सरकारको दायित्व भएकाले गम्भीर भएर स्थानीयवासीको जीवन बचाइदिन आग्रह गरे।
शुक्लागण्डकी नागरिक समाजका संयोजक खेमराज खनालले पटक पटक सम्बन्धित निकायमा डेलिगेसनु गए पनि सडकको समस्या समाधान नभएको बताए।

सडक ग्रेडिङ गरेर नियमित पानी हालिदिए धूलो मत्थर हुन्थ्यो, केही सहज हुन्थ्यो। त्यति काम पनि भएन, उनले भने।
धूलोले आजित भएपछि यहाँका स्थानीयवासीले विगत तीन दिनदेखि आन्दोलन गरिरहेका छन्। उनीहरूले सडक अवरूद्ध गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन्। माग पूरा नभएसम्म सडक बन्द निरन्तर रहने संघर्ष समितिले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मुग्लिङ पोखरा सडक विस्तारका लागि यो खण्ड हस्तान्तरण भइसकेकाले सडक डिभिजनले केही गर्न नसक्ने बताए। यो सडकखण्डको समस्या समाधानका लागि आफूले पनि विगतदेखि पहल गर्दै आइरहेको भन्दै प्रजिअ अर्यालले भने, सम्बन्धित निकायमा ध्यानाकर्षण गराइरहेको छु। मुख्यमन्त्रीलाई पनि यसबारेमा जानकारी गराएको छु। प्रक्रियागत रूपमा काम गर्दा ढिलाइ भएको हो।

गत चैत ६ गते सडक आयोजनालाई पत्र लेखी यस विषयमा ध्यानाकर्षण गराएको भन्दै प्रजिअ अर्यालले तत्कालका लागि सडक ग्राभेल गरी नियमित पानी हालेर धूलो मत्थर पार्ने व्यवस्था मिलाउने बताए।

सडक आयोजनाका परामर्शदार्ता र निर्माण कम्पनीका व्यवसायीलाई पनि बोलाएर समस्या समाधानका लागि निर्देशन दिएको छु, प्रजिअ अर्यालले भने।

मुग्लिङ पोखरा सडक आयोजनाअन्तर्गत पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले सडकको ठेक्का लागे पनि केही प्रक्रिया बाँकी रहेकाले समस्या भएको बताए। आयोजना सुरू गर्नुपूर्व बीमा गर्नुपर्ने प्रावधान रहेकाले ठेकेदारले आठ दिनभित्र बीमाको काम सक्ने प्रतिवद्धता जनाएको उनले बताए।

यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त खण्डमा सुधारको काम सुरू नभएको र नियमित पानी हाल्ने काम नभएकाले समस्या समाधानका लागि मुग्लिन पोखरा सडक योजना पश्चिम खण्ड लाई पत्र लेखेको छ।

प्रशासनले पिच बिग्री धूलो उड्ने ठाउँमा नियमित पानी छर्न र धूलो उड्न नदिन, खाल्डाखुल्डी परेका सडकखण्डमा मर्मत गरी धूलो नउड्ने बनाउन, गाछेपानी कोत्रे सडकखण्डमा ग्रेडर रोलिङ गर्ने र नियमित पानी छर्ने व्यवस्था मिलाउन, सडक सुधारको काम थाल्दा कोत्रे गाछेपानी खण्डबाट सुरू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com