Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

प्रेमिकाले नाच हेर्न बोलाएकी थिइन्, बाबुले ‘हातखुट्टा भाँचिदिए’पछि अस्पतालमा छट्पटाइरहेका छन् मन्साराम

घोराही– दाङको राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षिय मन्साराम यादव बाँकेको नेपालगञ्जस्थित वेस्टर्न हस्पिटलमा छट्पटाइ रहेका छन्। टाउको, हात–खुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ।

साउन २० गते राति १० बजेतिर मेला हेर्न जाने भनेर निस्किएका उनी त्यो दिन घर फर्किएनन्। त्यसको दोस्रो दिनपछि मात्रै परिवारका सदस्यले थाहा पाए, मन्साराम त अस्पताल भर्ना भएका रहेछन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन २१ गते बिहान राजपुर गाउँपालिका– ३ कै बेलाका स्थानीयले १ जना चोर गाउँ पसेर लुटपाट गर्न खोजेको भन्दै फोन गरेका थिए। स्थानीयको फोनपछि इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले मन्सारामलाई घाइते अवस्थामा फेला पारेको थियो।

आफूहरुको घरमा लुटपाट गर्न आएपछि मन्साराममाथि सामान्य कुटपिट गरेको स्थानीयको भनाइ थियो। तर, अनुसन्धान गर्ने क्रममा घटना चोरीसँग नभइ ‘प्रेम सम्बन्ध’सँग सम्बन्धित रहेको पत्ता लाग्यो।

मन्साराम यादव बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा, कक्षा १२ मा अध्ययनरत छात्र हुन्। सोही कक्षामा अध्ययनरत एकजना केटी साथीसँग करिब एक महिना अघि उनको प्रेम सम्बन्ध बस्न पुग्यो।
उनीहरुको प्रेम सम्बन्ध दोहोरो नै थियो। युवतीका बुवा पाटेश्वर यादव पनि सोही विद्यालयका शिक्षक हुन्, मन्साराम पाटेश्वरका विद्यार्थी।

पाटेश्वरले आफ्नी छोरीको प्रेम सम्बन्ध रहेको थाहा पाएपछि मन्सारामलाई ‘तह लगाउने’ योजना बनाएका रहेछन्। जसअनुसार उनले घरसल्लाह गरेर सबै कुराको ‘चाँजोपाँजो’ पनि मिलाए।

प्रहरीका अनुसार पाटेश्वरले छोरीलाई मानसिक यातना दिएर प्रेमी मन्सारामलाई गाउँमा राति नाच लाग्छ, नाच हेर्न जाउँला भनेर बोलाउन लगाएका थिए।

प्रेमीकाले फोन गरेरै नाच हेर्न बोलाएपछि मन्साराम आफ्ना ३ जना साथीसहित प्रेमिकाले भनेको ठाउँ बेला चोक पुगेका थिए। तर, त्यहाँ पुग्न नपाउँदै मन्सारामको टोलीमाथि आक्रमण भयो। उनका ३ साथीहरु त्यहाँबाट भाग्न सफल भएपनि मन्सारामलाई भने आक्रमणकारीले ‘कब्जा’मा लिए।

घटनाका प्रत्यक्षदर्शी स्थानीयले प्रहरीलाई दिएको बयानअनुसार बेला चोकबाट मन्सारामलाई कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा लगियो। घरमा लगेर पनि उनीमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते भएका मन्सारामले प्रहरीलाई दिएको बयानमा आफूमाथि इटा, ढुंगा, चिर्पट, भाटा, लाठीले आक्रमण भएको बताएका छन्।

मन्सारामलाई कुटपिट गरेको आरोपमा प्रहरीले पाटेश्वर यादव र उनका दाइ धीरबहादुर यादवलाई घटनाको २ दिन पछि पक्राउ गरेको हो। कुटपिटमा संलग्न ३ जना भने अझै फरार रहेका जनाइएको छ।

प्रहरीका अनुसार कुटपिटपछि युवतीका आफन्तहरुले मन्सारामलाई ‘चोरी गर्न आएको हुँ’ भन्ने स्वीकार्न बाध्य पारेर कागज समेत गर्न लगाएको पाइएको छ। उक्त कागज प्रहरीले बरामद गरेको छ।

मन्सारामलाई जबरजस्ती हस्ताक्षर गर्न लगाइएको भनिएको उक्त कागजमा लेखिएको छ, ‘म चोरी गर्न आएको थिएँ, चोरी गर्दागर्दै घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन, यदि गरेको खण्डमा यही कागजका आधारमा उजुरी फिर्ता लिइने छ।’

प्रहरीका अनुसार मन्साराममाथि कुटपिट गरेर राति उनीहरुले आफ्नै घरमा बाँधेर राखेका थिए। बिहान राजपुर गाउँपालिका– ३ का वडाध्यक्षलाई बोलाएर लैजान भनेका थिए। तर, मन्सारामको अवस्था गम्भीर भएकाले वडाध्यक्षले प्रहरी नबोलाइ कुनै पनि प्रक्रिया अगाडि बढाउन नसकिने बताएका थिए।

त्यसपछि मात्रै युवतीका आफन्तहरुले ‘गाउँमा चोर आएको र आफूहरुले नियन्त्रणमा लिएको’ भन्दै प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरीक्षक रन्जु केसी नेतृत्वको टोलीले मन्सारामको उद्धार गरेर घोराहीस्थित अस्पताल पठाएको थियो। तर, घोराहीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई नेपालगञ्जस्थित वेस्टर्न अस्पतालमा लगिएको मन्सारामका आफन्तले जानकारी दिएका छन्। नेपाल लाइफ

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com