Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्‍याएर रूपन्देहीका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्।
बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन्।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो।
पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची पाणिनी–२ मा पर्ने डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो।

हत्याको अभियोगमा पाणिनि–२ घर भई हाल सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय दीपक भनिने कुलचन्द्रलाई प्रहरीले पक्राउ गरेको छ।

गौतमले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

गौतमलाई बिक्री गरेको लु १ ख ७७८१ नम्बरको ट्रक पास गर्न भनी हिँडे पनि सोही दिनदेखि पाण्डे सम्पर्कमा नआएपछि छोरी शीलाले प्रहरीमा उजुरी गरेकी थिइन्।

साउन ११ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजतलासको क्रममा पाण्डेको शव भेटिएको हो।
प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको ल १ ख ७७८१ नम्बरको ट्रक रु १६ लाख मूल्य कायम गरेपछि दिने सर्तमा नामसारी गरेकामा उक्त पैसा र घर निर्माण गर्दाको ऋण, मोटरपार्टस् सञ्चालन गर्दा लागेको ऋणका कारण ट्रकको पैसा बुझाउन नसकिने देखेपछि हत्या गर्ने योजना बनाएका थिए।

गौतमले योजनाबद्धरुपमा साउन ९ गते पाण्डेलाई अर्घाखाँचीस्थित घरमा गएर पैसा दिने भन्दै फकाइफुलाइ गरेर लिई गएकोमा भोलिपल्ट घरबाट कालिज मार्न भनी जङ्गलमा लगि पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी सोही स्थानमा रहेको भिरबाट तल खसालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रमुख प्रहरी नायब उपरीक्षक केसीले बताए।

पाण्डेको हत्यापछि अघिल्लो दिन प्रहरीको सम्पर्कमा पुगेका अभियुक्त गौतम अर्को दिन फरार भएका थिए। ‘पाण्डेकी छोरी शीलालाई फोन गरेर मलाई तनाव भयो, म अब तिम्रो नाममा आत्महत्या गर्छु भनेर हिँडेका थिए, शव भेटिएको भोलिपल्ट प्रहरीले पक्राउ गर्‍यो’, पाण्डेका आफन्त पुष्कर पाण्डेले भने।

पाण्डेलाई योजनाबद्ध तरिकाले अपहरण गरी अर्घाखाँची पुर्‍याएर हत्या गरिएको परिवार तथा आफन्तको आरोप छ। गौतमले सुनियोजित रुपमा विष्णु पाण्डेसँग किनेको गाडीको पैसा अर्घाखाँची गएर दिन्छु भनी बुटवलबाट अपहरण गरी अर्घाखाँची पुर्‍याएर हत्या गरेको मृतकका आफन्त उमेश कुँवरको दाबी छ।

‘हामीलाई पाण्डेको साथी गौतममाथि शङ्का लागेर प्रहरीमा उजुरी दिएका थियौँ तर प्रहरीले पहिले उनलाई सामान्य सोधपुछ गरेर मात्रै छाड्यो, आखिर उनैले हत्या गरेको प्रमाणित भयो’, कुँवरले भने।

आरोपी गौतमले हत्या गर्न प्रयोग गरेको फलामको रड जय मोटरपार्टस्मा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको छ। पाण्डेको शव सडकदेखि करिब आठ सय मिटर दूरीमा सिद्ध सामुदायिक वनको नेवारे खोला नजिक शरीरमा भित्री टिसर्ट र भित्री बस्त्र मात्रै लगाएको अवस्थामा भेटिएको थियो।

टाउकोमा गहिरो चोटपटक, अनुहार तथा शरीरमा नीलडामसमेत रहेको अवस्थामा प्रहरी र स्थानीयले पाण्डेको शव फेला पारेका थिए। शव भेटिएपछि पाण्डेका दाजु तेजबहादुर पाण्डेले अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन्।

आइतबार इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरी उनले घटनामा निष्पक्ष अनुसन्धान गरी न्याय दिन अनुरोध गरेका छन्। अभियुक्तले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकमसमेत नदिएकाले उक्त गाडीसमेत बरामद गरी परिवारलाई दिनुपर्ने तेजबहादुरको भनाइ छ। साथै मृतकका छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचारको व्यवस्था गराई क्षतिपूर्तिसमेत दिलाउन परिवारको माग छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com