Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

ट्याक्सीलाई तीन भागमा वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क

काठमाण्डाै – सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने गाडीलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । 

यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने गाडीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले याे मस्यौदाका सम्बन्धमा आउँदाे असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय-परामर्श इमेल तथा फेसबुक पेजमार्फत् पठाउन अनुरोध गरेको छ ।

मस्यौदा अनुसार अब ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन भागमा वर्गीकरण गरिनेछ । विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरिएको हो । 

अर्डिनरी ट्याक्सी न्यूनतम आठ सय सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय गाडीको हकमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र गाडीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात शून्य दशमलव ०१२ हुनुपर्नेछ । यस्ता ट्याक्सीमा मनोरञ्जनका लागि कम्तीमा गाडीको अगाडि र पछाडि साउण्ड सिस्टम (स्पिकर)को सुविधा हुनुपर्नेछ । 
    
डिलक्स ट्याक्सी न्यूनतम एक हजार दुई सय सिसी क्षमता वा त्याेभन्दा माथिको इञ्जिन भएको र विद्युतीय गाडीको हकमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र गाडीको कुल भार (केजी) बीचको न्यूनतम अनुपात शून्य दशमलव ०१९ हुनुपर्नेछ । यस्ता ट्याक्सीमा साउण्ड सिस्टम (स्पिकर), टच स्क्रीनसहितको कम्तीमा एक वटा डिस्प्ले, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झयाल, स्वचालित वातानुकूलन प्रणाली, पछाडि रिडिङ ल्याम्पको सुविधा हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको छ ।

मस्यौदाअनुसार लक्जरी ट्याक्सीको हकमा न्यूनतम दुई हजार सिसी क्षमता वा त्याेभन्दा माथिको इञ्जिन भएको र विद्युतीय गाडीको हकमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र गाडीको कुल भार (केजी) बीचको न्यूनतम अनुपात शून्य दशमलव ०२५ हुनुपर्नेछ । यस वर्गका ट्याक्सीमा मनोरञ्जनका लागि गाडीको अघिपछि साउण्ड सिस्टम (स्पिकर), गाडीको पछाडिको सिट पंक्तिका लागि कम्तीमा दुई वटा ‘टच स्क्रीन’सहितको डिस्प्ले, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल र हावाको गुणस्तर नियन्त्रणसहितको स्वचालित वातावरण नियन्त्रणको सुविधा हुनुपर्नेछ । साथै वाइफाइ इन्टरनेटको सुविधा, ट्याक्सीको अगाडि र पछाडिका लागि ‘हेड रेष्ट’, ‘कप होल्डर’, ‘रिडिङ ल्याम्प’,  ‘मोबाइल तथा विद्युतीय उपकरण चार्ज गर्न लागि डिसी वा एसी पावर आउटलेटलगायतका सुविधा उपलब्ध हुनुपर्नेछ ।

वर्गीकरण गरिएका ट्याक्सीले वर्ग खुल्ने गरी गाडी सङ्केत चिह्न अनिर्वाय राख्नपर्नेछ । प्रत्येक ट्याक्सीले वर्ग खुल्ने गरी अगाडिको सिसाको चालकतर्फको माथिल्लो कुना, पछाडि पट्टिको दायाँ तथा बायाँ ढोकाको सिसामा र पछाडिको सिसाको दायाँ तर्फको कुनामा अर्डिनरीले ‘ओ’, डिलक्सले ‘डी’ र लक्जरीले ‘एल’ चिह्न टाँस्नुपर्नेछ । साथै ट्याक्सीहरुले छतमा बत्ती राख्नुपर्नेछ । मस्यौदाअनुसार ट्याक्सी खाली हुँदा हरियो, गाडी खाली नहुँदा रातो र  गाडी सेवामा नहुँदा ‘ह्वेन अफ ड्युटी’ बल्ने सेतो सङ्केत बत्ती बाल्नुपर्नेछ । साथै प्रत्येक ट्याक्सीले प्रिन्टरसहितको डिजिटल भाडा मिटर र डिस्प्लेसहितको जीपीएस नेभिगेसन प्रणाली पनि जडान गर्नुपर्नेछ ।  

शूल्क पनि फरक 

विभागले ट्याक्सीको वर्गीकरण अनुसार भाडा दर समेत प्रस्ताव गरेको छ । जसअनुसार अर्डिनरी वर्गको ट्याक्सीको हकमा अहिले नेपाल सरकारले ट्याक्सीका लागि तोकेको भाडादर नै कायम हुनेछ भने डिलक्स ट्याक्सीको भाडादर अर्डिनरीको तुलनामा २० प्रतिशतभन्दा बढी हुनेछ । साथै, विभागले लक्जरी ट्याक्सीका लागि अर्डिनरी ट्याक्सीको भाडादरभन्दा एक सय प्रतिशत अर्थात् दोब्बर भाडादर प्रस्ताव गरेको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com