Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सडकमा जथाभावी निर्माण सामग्रीको थुप्रो, सर्वसाधारणलाई हिँड्नै समस्या

जेठ, २० काठमाडौं । कैलालीको टीकापुरमा जथाभावी निर्माण सामग्री राख्नाले नागरिकको स्वास्थ्यमा समस्या पर्न थालेको छ।
सहरका अधिकांश खुला मैदान ढुंगा, बालुवा र माटोले भरिएका छन्।
वरिपरि घर, बीचमा रहेका खुला मैदानमा बालुवा र ढुंगा थुपार्दा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको जनाइएको छ। टीकापुरको सिटी बसपार्कसहित टीकापुर अस्पतालको परिसर र विभिन्न ब्लकमा रहेका खुला मैदान ढुंगा, माटो र बालुवाले भरिएका छन्।

यसरी ढुंगा, माटो र बालुवा थुपार्दा स्थानीयलाई हिँड्डुल गर्नसमेत समस्या हुन थालेको छ।

यसरी थुपारिएका निर्माण सामग्री हावाहुरीले उडाउँदा घरभित्र पस्ने गरेको स्थानीय बताउँछन्। बालुवा र माटो उड्दा घरभित्रै बस्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।

खुला क्षेत्रमा बालबालिका खेल्न सक्ने वातावरणसमेत नरहेको स्थानीयको गुनासो छ। स्थानीयले बारीमा लगाएका तरकारीसमेत धुलोधुवाँले नष्ट हुन थालेका छन्। यसरी थुपारिएका सामग्री राख्दा र उठाउँदा ध्वनि प्रदूषण भई रातिको समयमा सुत्नसमेत समस्या हुने गरेको स्थानीय रामप्रसाद ढुंगानाले बताए।

लष्अ
‘सिटी बसपार्क भने पनि बस आउँदैनन्, बस बिसौनी भएको ठाउँमा बालुवाको थुप्रो छ’, उनले भने, ‘नगरपालिकाले निर्माण सामग्री राख्ने उचित स्थानको व्यवस्था गर्नुपर्छ।’

उनले खुला ठाउँमा निर्माण सामग्री नराखभन्दा कतिपयले व्यक्तिगत दुश्मनीका रूपमा लिने गरेको बताए।

खुला मैदानमा मानिस साँझ र बिहानको समयमा रमाउने, हरियाली, बगैंचा भएको वातावरण बनाइनुपर्ने हो तर त्यसो हुन सकेको छैन। जसले गर्दा मानिसलाई खुला ठाउँमा हिँड्नसमेत समस्या हुने गरेको स्थानीयबासी खगेन्द्र विनाडीको गुनासो छ।

‘मानव बस्तीको बीचमा माटो, बालुवा र ढुंगाको थुपार्नु सरासर गलत हो’, उनले भने, ‘धुलोले नागरिकलाई पार्ने असरका बारेमा निर्माण सामग्री राख्ने व्यक्तिले पनि बुझ्दैनन् र स्थानीय सरकारले पनि चासो देखाएको छैन।’

यसरी राखिएका निर्माण सामग्रीले प्रदूषण बढाउँछ। यसले वायु प्रदूषण, पानीमा प्रदूषणसमेत बढाउने भएकाले रुघाखोकी, श्वासप्रश्वासको समस्या, निमोनिया हुनसक्ने जोखिम रहन्छ। पानी र खाना दूषित हुँदा झाडापखाला लाग्ने, हेपाटाइटिसको समस्या, छाला तथा पेटको समस्या हुनुका साथै बालीनालीमा नोक्सान हुने टीकापुर अस्पतालका चिकित्सक संवाद खरेल जानकारी दिए।

‘मानिस निरोगी रहन धुलोधुवाँबाट टाढा रहने, बाहिरबाट आउने बित्तिकै हातखुट्टा धुने, मास्कको प्रयोग गर्नेजस्ता कुरामा ध्यान दिन आवश्यक छ’, उनले भने, ‘गर्मी मौसममा पनि रुघाखोकी र श्वासप्रश्वासका समस्या भएर बालबालिका उपचारमा आउने गरेका छन्।’

टीकापुर नगरपालिकाले जथाभावी निर्माण सामग्री राखिएपछि गत वर्ष जथाभावी निर्माण सामग्री राख्नेको विवरण संकलन गरेको थियो।

संकलनपछि निर्माण सामग्री थुपार्नेलाई नगरपालिकामा बोलाएर १५ दिने अल्टिमेटम दिए पनि सामग्री नहटाएको र यसपछि नगरपालिकाले कारबाही प्रक्रियाअघि नबढाएको नगर प्रहरीका संयोजक पहल शाहले बताए।

टीकापुर नगर प्रमुख रामलाल डगौरा थारुले खुला मैदानमा भएको अतिक्रमण हटाएर टीकापुरलाई हरियो सहर बनाउने जानकारी दिए।

‘कार्यभार सम्हाल्दा नै टीकापुरलाई हरियो सहर बनाउने निर्णय गरेका छौं, अब सबै अतिक्रमण हटाएर सबै खुला मैदानमा वृक्षरोपण गरिनेछ’, उनले भने, ‘अब खुला मैदानमा आँप, लिची, अम्बा, फूल रोपेर बगैंचा बनाउने काम सुरू हुन्छ। सबै खुला मैदान मानिस रमाउने खालका उद्यानका रूपमा विकास हुनेछन्।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com