Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान

जेठ,१४ काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमायो ।

यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट मात्र १ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । निर्माता मणिराम पोखरेलका अनुसार उक्त ओपनिङमा काठमाडौं र मोफसलको ओपनिङ हिस्सा झन्डै बराबर छ ।

प्रतिक्षित सिरिज भएकाले पनि फिल्मले बक्सअफिसमा डेढकरोड रुपैयाँभन्दा बढी अग्रिम टिकट बिक्रीको अर्को कीर्तिमान समेत राखेको थियो । शुक्रबार अकुपेन्सी करिब शतप्रतिशत रह्यो । मल्टिप्लेक्समात्र नभएर सिंगल स्क्रिन पनि पूर्ण अकुपेन्सीसहित संचालन भए ।

दोस्रो दिन शनिबार पनि फिल्मको कमाइमा उछाल आउने देखिएको छ । बिहानैदेखि हलमा दर्शकहरु भरिभराउ छन् । हल सञ्चालकहरुले कबड्डी चारको ओपनिङलाई नेपाली फिल्मको प्रदर्शन इतिहासमा अभूतपूर्व भएको बताए ।

चर्चित सिक्वेल, स्टारकास्ट, देशभर हल विस्तार हुनुजस्ता कारणले कबड्डी चारको ओपनिङ आक्रामक भएको जनाइएको छ । दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर अभिनित फिल्म अष्ट्रेलिया, बेलायत र अमेरिकामा पनि एकसाथ रिलिज भएको छ ।

रिलिजअघि नै लगानी सुनिश्चित गरिसकेको फिल्मले विदेशबाट मात्र २ करोड रुपैयाँ कमाइ गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com